बञ्चरेडाँडामा फोहर लैजाने गाडीलाई फेरि अवरोध, घाइतेको उपचार गर्न महानगर तयार
हिजो सहमति भए पनि बञ्चरेडाँडामा फोहर लैजाने गाडीलाई स्थानीय बासिन्दाले फेरि अवरोध गरेका छन् ।
हिजो पक्राउ परेका व्यक्तिको रिहाइ र अस्ति घाइते भएका व्यक्तिको उपचार खर्च बेहोर्न माग गर्दै उनीहरुले बिहान फोहर बोकेर गएका गाडीलाई बाटोमै रोकेका छन् । उनीहरुले आफ्नो माग सम्बोधन भएपछि मात्रै फोहर विसर्जन गर्न दिने बताएका छन् । अहिले स्थानीय बासिन्दासहित त्यहाँका जनप्रतिनिधिलगायत सरोकारवालाहरुको सर्वदलीय बैठक बस्दैछ ।
बैठकले फोहर विसर्जन कसरी गर्न दिने भन्ने बारेमा निर्णय गर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो । काठमाण्डौ महानगरपालिकाले पनि उनीहरुको निर्णयलाई पर्खने भएको छ ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले घाइतेको उपचार खर्च बेहोर्न महानगर तयार रहेको तर पक्राउ परेका व्यक्तिको रिहाइको विषय कानुनसँग जोडिएकाले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो ।
काठमाण्डौ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको हिजोको बैठकले अवरोध हटाएर फोहर फाल्ने सहमति गरेको थियो । सहमति अनुसार काठमाण्डौ महानगरपालिकाले बिहानैदेखि फोहरका गाडी बञ्चरेडाँडा पठाएको थियो । बिहान बञ्चरेडाँडा गएका ६० वटा फोहर लोड गरिएका गाडी बाटोमै रोकिएका छन् ।