पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
पिपुल्स पावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ साउन ३१ गतेदेखि निष्कासन गरेको हो ।
सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ । यीबाहेक बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।
इच्छुक खरीदकर्ताले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आज बैकिङ समयसम्म आवेदन दिन सक्नेछन्
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि लगानीकर्ताले मेरो शेयर वेबसाइट तथा एप र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. १ र ४ मा पुवा खोलाको पानीबाट ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणका लागि कम्पनीको हालको अनुमानित लागत रू. ९५ करोड ६ लाखभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. १९ करोड १६ लाखभन्दा बढी हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी १ करोड ६२ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९४ दशमलव ९६ छ ।