सी-आस्बा शुल्क घटाउने धितोपत्र बोर्डकाे निर्णय, अब आईपीओ भर्दा बढीमा ५ रूपैयाँ शुल्क लाग्ने

६ भाद्र २०७९, सोमबार ०९:१९

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सी-आस्बा शुल्क घटाउने निर्णय गरेको छ ।

आइतबार बसेको बोर्डको सञ्चालक समिति बैठकले सी-आस्बा शुल्क बढीमा ५ रूपैयाँ ताेक्ने निर्णय गरेकाे हाे । याे निर्णय कार्यान्वयन भएपछि बैंक तथा वित्तीय संस्थाहरूले आईपीओ भर्ने आवेदकहरूबाट सी-आस्बा शुल्कबापत बढीमा ५ रूपैयाँ लिन पाउनेछन् ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूले सी-आस्बा शुल्कबापत १० देखि १०० रूपैयाँसम्म लिने गरेका छन् । चार ओटा बैंकले भने सी-आस्बा शुल्क लिने गरेका छैनन्, जसमा कुमारी, नबिल, राष्ट्रिय वाणिज्य र एनआईसी एसिया बैंक छन् ।

सी-आस्बा शुल्कका कारण लगानीकर्ता मारमा परेकाे गुनासाे आएपछि यस्ताे निर्णय गरिएकाे बोर्डका अध्यक्ष रमेश हमालले बताए । उक्त निर्णय छिट्टै कार्यान्वयन हुने पनि बाेर्डले जनाएकाे छ ।

सी-आस्बा शुल्कमध्ये १/१ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकले र सीडीएस एण्ड क्लियरिङ लिमिटेडले प्राप्त गर्नेछन् । बाँकी ३ रूपैयाँ भने सी-आस्बा सदस्यले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *