व्यापारघाटा १० प्रतिशतले घट्यो
चालू आर्थिक वर्ष (आव) को पहिलो महीनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मुलुकको वैदेशिक व्यापारघाटा १० प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । आयात निरुत्साहित गर्ने सरकारी नीति, बैंकहरूमा तरलता अभाव, बढ्दो महँगीलगायतले आयात घटेको अनुमान गरिएको छ ।
भन्सार विभागका अनुसार यसपालि साउनमा पोहोर साउनको तुलनामा आयात १३ प्रतिशतले घटेको छ । विभागको तथ्यांकअनुसार २०७९ साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । पोहोर साउनको वस्तु आयात १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बराबर थियो । साउनमा निर्यात पनि २८ दशमलव ६८ प्रतिशतले घटेको छ । २०७८ साउनमा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यो साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको मात्र निर्यात भएको छ । आयात घटेपछि व्यापारघाटा पनि कम भएको छ । २०७९ साउनमा १ खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ बराबर व्यापारघाटा छ । पोहोर साउनको व्यापारघाटा १ खर्ब २९ अर्ब ९६ करोड थियो ।
अत्यधिक आयातका कारण शोधनान्तर घाटा उच्च हुनुका साथै विदेशी मुद्राको सञ्चितिसमेत घट्न थालेपछि राष्ट्र बैंकले पोहोर पुसमा आयात निरुत्साहित गर्ने नीति लिएको थियो । सरकारले पनि गत वैशाखदेखि निजी प्रयोजनका सवारीसाधन, तयारी मदिरा, महँगा मोबाइल र टेलिभिजन, बच्चाका खेलौना, खेल्ने तास, कुरकुरे–लेजजस्ता खानेकुरा, बढी क्षमताका मोटरसाइकललगायत १० वस्तुको आयातमा रोक लगाएको छ । प्रतिबन्धको म्याद यही भदौ १४ गतेसम्म छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै बैंकहरूले कर्जा लगानी बन्द गरेकाले पनि आयात प्रभावित भएको अनुमान गरिएको छ ।
सरकारले साउनमा वस्तु आयातबाट ३१ अर्ब ९६ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जानकारी दिएको छ ।
परिमाण घट्यो, रकम बढ्यो
केही वर्षदेखि आयातको पहिलो नम्बरमा रहँदै आएको डिजेल खपत गत साउनमा भारी मात्रामा घटेको देखिएको छ । पोहोर साउनमा ९४ हजार १०४ किलोलिटर आयात भएको डिजेल यसपालि साउनमा घटेर ६५ हजार १८६ किलोलिटरमा सीमित भएको छ ।
पेट्रोल आयात पनि पोहोर साउनको ५८ हजार ५५६ किलोलिटरबाट ५४ हजार ७०४ किलोलिटरमा ओर्लेको छ । यी दुवै वस्तुको मूल्यमा भएको भारी वृद्धिले मागमा कमी आउँदा आयात घटेको अनुमान गरिएको छ । विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग तथा पेट्रोल र डिजेलले चल्ने वाहनको आयातमा लगाइएको प्रतिबन्धले पनि आयात घटाउन काम गरेको हुन सक्ने अनुमान छ ।
आयातको परिमाण उल्लेख्य घटे पनि मूल्यवृद्धिको कारण डिजेल र पेट्रोल आयातमा पोहोरभन्दा यसपालि बढी रकम बाहिरिएको छ । पोहोर साउनमा डिजेल आयातका लागि ६ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएकोमा यसपालि त्यस्तो रकम ८ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी पेट्रोल आयातमा पोहोर ४ अर्ब ४१ करोडभन्दा बढी बाहिरिएकोमा यसपालि उक्त रकम बढेर ६ अर्ब ३८ करोड नाघेको छ ।
पेट्रोल र डिजेलको खपत घटे पनि खाना पकाउने ग्यासको खपत भने पोहोर साउनको तुलनामा बढेको भन्सार विभागले मंगलवार सार्वजनिक गरेको चालू आवको पहिलो महीनाको आयात–निर्यातसम्बन्धी तथ्यांकले देखाउँछ । पोहोर साउनमा ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको ३ करोड ७९ लाख ८२ हजार किलो खाना पकाउने ग्यास आयात भएकोमा यसपालि ५ अर्ब २७ करोड रुपैयाँभन्दा बढी मूल्यको ४ करोड १४ लाख ८७ हजार किलो आयात भएको छ ।
गत साउनमा सुनचाँदी आयात घटेको छ । विभागका अनुसार पोहोर साउनमा ३ अर्ब १६ करोड रुपैयाँ बराबरको सुन आयात भएकोमा यसपालि १ अर्ब ४८ करोड रुपैयाँको मात्र आयात भएको छ । फागुन तेस्रो साता राष्ट्र बैंकले सुन आयातको कोटा आधा घटाएर दैनिक १० किलो कायम गरेको थियो ।
यस्तै गतवर्ष साउनमा २ अर्ब ६२ करोड रुपैयाँको चाँदी आयात भएकोमा यसपालि ७ करोड ६४ लाख रुपैयाँ बराबरको मात्र आयात भएको छ । गत मङ्सिरमा राष्ट्र बैंकले चाँदी आयात गर्न एकपटकमा ३५ हजार अमेरिकी डलरसम्मको सटही सुविधा दिने गरी सीमा तोकेको थियो ।