बैंकहरुले आफूखुसी ब्याजदर बढाउँदा व्यवसायीहरू ठुलो मर्कामा

९ आश्विन २०७९, आईतवार ०७:४२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफूखुसी कर्जाको ब्याजदर बढाउँदा आफूहरू मारमा परेको उद्योगी व्यवसायीले गुनासो गरेका छन् । चर्को ब्याजदर, पुँजी अभाव र आयातमा कडाइले उद्योग व्यवसाय संकटमा परेको उनीहरूको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाले आफूखुसी कर्जाको ब्याजदर बढाउँदा उद्योगी व्यवसायीहरू मारमा परेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गुनासो गरे । उनले भने, ‘मनपरी ढङ्गले ब्याजदर वृद्धि हुँदा हामी मारमा परेका छौँ । मैले व्यवसाय शुरु गरेको तीन दशक भन्दा धेरै भइसक्यो । अहिलेको अवस्था जस्तो अरुबेला कहिले भएको थिए । अहिले उद्योगी व्यवसायीहरूलाई सबैतिरबाट समस्यामा पार्ने मात्रै काम भएको छ ।’

बैंक तथा वित्तीय संस्थाले आफूखुसी कर्जाको ब्याजदर बढाउँदा व्यवसायीहरू हात धाएर नै बस्नु पर्ने अवस्था आएको अध्यक्ष मल्लले बताए । उनले भने, ‘ब्याजदर वृद्धिका कारण सम्पूर्ण व्यवसायीहरू हात धोएर बस्नु पर्ने भएको छ । बेस रेट, प्रिमियम पनि बढाउने अनि फेरि ब्याजदर पनि बढाउने हो भने व्यवसायी टिक्न सक्दैनौँ ।’ साथै उनले ब्याजदर वृद्धिबारे बैंकहरुको निर्णय नेपाल राष्ट्र बैंकले सच्याउनु पर्ने माग राखे ।

बैंक तथा वित्तीय संस्थाहरूले यही असोज महिनादेखि निक्षेप र कर्जाको ब्याजदर बढाएका छन्  । अघिल्ला चार महिना निक्षेपको ब्याजदर नबढाउने भद्र सहमति गरेका बैंक तथा वित्तीय संस्थाले असोजदेखि भने बढाएका हुन् ।

निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको निर्णयप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । निक्षेपको ब्याजदर वृद्धिले कर्जाको पनि ब्याजदर अकासिने भएकाले त्यसले आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने भन्दै महासंघले आपत्ति जनाएको हो ।

महासंघले एक विज्ञप्ति नै जारी गरेर भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाको निर्णयका कारण कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्फ महासंघ सरकार, केन्द्रीय बैंक र बैंक वित्तीय संस्थाको ध्यानाकर्षण गराउन चाहन्छ । पछिल्लो निर्णयले ब्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेका व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरुत्साहित हुने देखिन्छ ।’

बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको छ । ८ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फीति दरलाई बैंक वित्तीय संस्थाको ब्याजदर वृद्धिको निर्णयले थप माथि लग्ने महासंघले जनाएको छ ।

त्यस्तै, महिला उद्यमी महासंघकी वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवालीले पनि ब्याजदर वृद्धिको मारमा महिला उद्यमीहरूलाई परेको गुनासो गरिन् । उनले भनिन्, ‘बैंक तथा वित्तीय क्षेत्रले ब्याजदर बढाएका कारण समग्र क्षेत्रमा असर परेको छ । यसमा पनि सबैभन्दा बढी महिला उद्यमीहरूलाई परेको छ । सरकार र नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धिबारे सच्याउनु पर्छ ।’

आफ्नो फाइदाको लागि आफूखुसी बैंकहरुले ब्याजदर बढाउन नहुने उनको तर्क छ । साथै कोरोना महामारीपछि बिस्तारै तङ्ग्रिन खोजिरहेको उद्योग व्यवसाय ब्याजदर वृद्धिका कारण पुन फस्टाउन नसक्ने उनको भनाई छ ।

त्यस्तै, बैंकहरुले आफूखुँशी ब्याजदर वृद्धि गरेका कारण शेयर बजारमा नकारात्मक असर परेको शेयर लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । उनी भन्छन्, ‘लामो समयदेखि शेयर बजारमा गिरावट आइरहेको छ । शेयर बजारको ओरालो यात्रामा बैंकहरुको ब्याजदरले थप असर पार्ने देखिएको छ । बैंकहरुले आफूखुसी ब्याजदर वृद्धि गरेका कारण शेयर बजारमा नकारात्मक असर पर्छ ।’

उनका अनुसार बैंकहरुले आफूखुसी ब्याजदर बढाउँदा नेपाल राष्ट्र बैंकदेखि अर्थमन्त्री जनार्दन शर्मा समेत असन्तुष्ट बनेका छन् । ब्याजदर फिर्ताको विषयमा राष्ट्र बैंक र अर्थमन्त्रीले चाँडो कदम चाल्नु पर्ने उनको भनाई छ ।

‘बैंकहरु सेवामूलक होइन रहेछ । पैसा कमाउनका लागि मात्रै रहेछ । बैंकहरुले आफ्नो क्षणिक फाइदाका लागि अरूलाई समस्यामा पारे’, शेयर लगानीकर्ता रौनियारले भने, ‘ब्याजदर एकलदरमा कायम हुनुपर्छ । होइन भने नेपालमा उद्योगधन्दा फस्टाउन सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *