व्यापार घाटा कहिलेसम्म ? दुई खर्बको आयात हुँदा २८ अर्बको निर्यात

९ आश्विन २०७९, आईतवार ०८:४९

काठमाडौं । नेपालमा आयात हुने वस्तु र निर्यात गरिने स्वदेशी वस्तुबिचको खाडल घट्न सकेको छैन । सरकारले विभिन्न वस्तुहरूमा आयात प्रतिबन्ध लगाए पनि आयात र निर्यातबिचको खाडल उस्तै देखिएको हो ।

भन्सार विभागको तथ्यांक हेर्ने हो भने खर्बौँ रुपैयाँको आयात हुँदा अर्बमा निर्यात भएको देखिन्छ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौमा दुई खर्ब भन्दा बढीको आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा भदौ महिनामा दुई खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बढीको आयात भएको थियो ।

भन्सार विभागका अनुसार भदौ महिनामा ३४ दशमलव ८८ प्रतिशतले स्वदेशी वस्तुको निर्यात घटेको देखिन्छ । यस अवधिमा २८ अर्ब ६८ करोड ४ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षमा नेपालबाट ४४ अर्ब ३ करोड ९५ लाख बराबरको सामान निर्यात भएको थियो ।

त्यस्तै, भदौ महिनामा नेपालले २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा नेपालले २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।

त्यस्तै, वैदेशिक व्यापार १५ दशमलव ७० प्रतिशतले घटेको छ । यस अवधिमा ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *