बढ्दो ब्याजदरले मुलुकको व्यवसायिक गतिविधी ठप्प हुने अवस्था ;नेपाल चेम्बर अफ कमर्स
निक्षेपमा उच्च दरको ब्याजदर कायम हुँदा त्यसको असर कर्जाको ब्याजदरमा पर्न थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बढ्दो ब्याजदर नियन्त्रण गरी व्यवसायिक वातावरण बनाउन चेम्बरले नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल ।
‘बढ्दो ब्याजदरले मुलुकको व्यवसायिक गतिविधी ठप्प हुने अवस्था सिर्जना भएको छ,’ चेम्बरको विज्ञप्तिमा उल्लेख छ, ‘निक्षेपमै उच्च ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साही हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ ।’ कर्जा प्रवाह र नविकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारका असान्दर्भिक सेवा शुल्कलाई हटाउन चेम्बरले माग गरेको छ । उच्च दरको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न एकल दरको ब्याज कायम गर्नसमेत चेम्बरले आग्रह गरेको छ । बैंकहरूको आधार दरलाई यथाशक्य न्यूनतम बिन्दुमा कायम गरी विगतका वर्षहरूमा जस्तो अधिकतम २ प्रतिशत प्रिमियममा थप हुने व्यवस्था गर्न चेम्बरले राष्ट्रबैंकको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै, चेम्बरले परियोजना, पूर्वाधार तथा पर्यटन क्षेत्रमा प्रवाह गरिएको कर्जामा निश्चित अवधिसम्म स्थिर ब्याजदर कायम गर्न माग गरेको छ । निक्षेप लिएर कर्जा प्रवाह गर्दा सोही महिनामा ब्याजदर वृद्धि नगरी ३ महिनापछि मात्रै कायम गर्ने व्यवस्थालाई यथावत राख्ने व्यवस्था मिलाउन पनि चेम्बरले राष्ट्र बैंकसँग माग गरेको छ । हाल कायम स्प्रेड दर र बैंकहरूको आधार समय सान्दर्भिक तरिकाले व्यवस्थापन गर्न भन्दै चेम्बरले राष्ट्रबैंकलाई ९ बुँदामा ध्यानाकर्षण गराएको हो ।उच्च दरको आर्थिक वृद्धिका लागि एकल अंकको ब्याजदर कायम हुनुपर्ने भन्दै चेम्बरले तरलताको समुचित व्यवस्थापनका लागि पुँजीगत खर्च समयमै गर्न अनुरोध गरेको छ ।