बागमती प्रदेशका पाँच सहकारीबीच एकीकरण सम्झौता

सहकारी संस्थाहरुबीच एकीकरण हुने लहर चलिरहेका बेला बागमती प्रदेश भित्रका पाँच वटा सहकारी संस्थाले एकीकरणको सम्झौता गरेका छन् ।
तीन वटा बचत तथा ऋण सहकारी संस्था, एउटा बहुउद्देश्यीय सहकारी संस्था र एउटा पर्यटन सहकारी संस्थाले एक आपसमा गाभिएर नयाँ संस्था निर्माण गर्ने सम्झौता गरेका हुन् ।
एकीकरण सम्झौता गर्नेहरुमा नवसवल साकोस, प्रस्पर साकोस, जनसम्पर्क साकोस, अनमोल बहुउद्देश्यीय सहकारी संस्था र बुद्ध दर्शन पर्यटन सहकारी संस्था रहेका छन् ।
एकीकरण पछि काठामाडौंको कोटेश्वरमा प्रधान कार्यालय र अन्य स्थानमा सदस्य सेवा केन्द्र संचालन गरेर सेवा प्रवाह गर्नेगरी नयाँ संस्थाको नाम नव अनमोल बचत तथा ऋण सहकारी संस्था प्रस्ताव गरिएको छ । संस्थाको कार्यक्षेत्र बागमती प्रदेशभरि कायम रहने छ ।
एकीकृत संस्थामा नवसवल साकोसका अध्यक्ष सन्तोष प्रधानको अध्यक्षतामा नयाँ संचालक समिति गठन गर्ने सहमति भएको छ ।
प्रस्तावित समितिको उपाध्यक्षमा अनमोल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सोनाम श्रेष्ठ, सचिवमा प्रस्पर साकोसका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा बुद्ध दर्शन पर्यटन सहकारी संस्थाका अध्यक्ष राजेश तामाङ रहनेछन् । त्यस्तै समितिको सदस्यमा युव बहादुर कार्की, लक्ष्मी तामाङ र प्रकाश श्रेष्ठलाई सदस्यमा प्रस्ताव गरिएको छ । यसैगरी प्रस्तावित लेखा समितिको संयोजकमा इपक मल्ल रहनेछन् भने पञ्चकृष्ण नापित र सविता खड्गी सदस्य रहनेछन् ।
एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा अनमोल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सन्तोष श्रेष्ठ रहनेछन् ।
एकीकरण पश्चात १० हजार शेयर सदस्य आवद्ध हुने र प्रस्तावित संस्थाको कुल कारोबार ४० करोड पुग्ने जनाईएको छ ।
एकीकरण सम्झौता गर्ने संस्थाहरुबीच एक महिना भित्र सबै संस्थाको वार्षिक साधारण सभा सम्पन्न गरेर त्यसको १५ दिन भित्र एकीकृत साधारण सभा सम्पन्न गर्ने सहमति भएको छ ।