अहिलेसम्म ब्रोकर लाइसेन्सको लागि एक मात्र आवेदन

२६ आश्विन २०७९, बुधबार ०९:३८

काठमाडौं । नयाँ ब्रोकरका लागि आवेदन दिने समय पाँच दिन बाँकी रहँदासम्म एउटा मात्र आवेदन परेको छ । नेपाल धितोपत्र बोर्डले दिएको जानकारी अनुसार हालसम्म हिमालयन सेक्युरिटिज लिमिटेडको मात्र आवेदन परेको हो ।

रु. २० करोड चुक्तापूँजी रहेको यस कम्पनीले पहिलो तहको सीमित कार्य गर्ने गरी लाइसेन्स माग गरेको बोर्डले जानकारी दिएको छ । असोज २ गते ३० दिनको समय तोक्दै बोर्डले ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो । जस अनुसार असोज ३१ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

ब्रोकर लाइसेन्सका लागि बोर्डमा निवेदन दिनुपूर्व धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जसँग सिफारिस लिनुपर्नेछ । हिमालयन सेक्युरिटिज बाहेकका अन्य ९ कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस मागेको जानकारी नेप्सेले दिएको छ । नेप्सेमा माछापुच्छ्रे सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, केबिएल सेक्युरिटिज, कलश सेक्युरिटिज, भोलेनलेज सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, प्रोपर्टी बिगाड, शेयर ब्रो सेक्युरिटिज र प्रभु स्टकको निवेदन परेको हो ।

बोर्डले तोकेको अवधिभित्र आवेदन दिएका कम्पनीहरूको आवश्यक काजगात पूरा भएनभएको छानबिन गरी रीतपूर्वक आवेदन दिएका कम्पनीहरू छनोट गर्ने तयारी बोर्डले गरेको छ । बोर्डले पहिला योग्य कम्पनीहरूलाई पूर्वाधार तयार गर्न अनुमित दिने र तोकेको मापदण्ड अनुसार पूर्वधार तयार पारेपछि ब्रोकर सेवा सञ्चालन गर्न अनुमति दिने जानकारी गराएको छ ।

बोर्डले वितरण गर्न लागेको नयाँ ब्रोकर लाइसेन्स तीन किसिमका हुनेछन् । पूँजी संरचनाका आधारमा फरकफरक सेवा प्रदान गर्ने गरी बोर्डले तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । बोर्डले तोकेको पूँजी संरचना अनुसार सीमित दायराको पहिलो तहको ब्रोकरका लागि रु. २० करोड, शेयर खरीदविक्री गर्नेसँगै डीपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको

चुक्तापूँजी रु. ६० करोड र तेस्रो तह स्टक डिलरका लागि रु. १ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्नेछ । असोज २ गते नै बोर्डले ब्रोकर लाइसेन्ससँगै एक नयाँ स्टक एक्सचेन्ज र दुई ओटा वस्तु विनिमय (कमोडिटी एक्सचेन्ज) बजार सञ्चालनका लागि एकै पटक आवेदन माग गरेको थियो ।

ब्रोकर लाइसेन्सका लागि ३० दिनेको समयसीमा दिएको बोर्डले स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि ४५ दिनको समयसीमा तोकेको थियो । हालसम्म स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन प्राप्त नभएको बोर्डको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *