कात्तिकमा असोजकै ब्याजदरलाई निरन्तरता

३१ आश्विन २०७९, सोमबार ०२:५७

कात्तिक महिनामा पनि बैंकहरुले असोजकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्। बैंकरहरुबीच अनौपचारिक रुपमा निक्षेपको ब्याजदर नबढाउने भएका छन्।

ब्याजदर निर्धारण गर्न यस पटक नेपाल बैंकर्स संघको बैठक नबस्ने प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिनुभयो । यसअघि बैठक बसेर ब्याजदर तोक्दै आएकोमा यस पटक भने बैठक नबस्ने भएको हो।

बैंकहरुबीच भएको छलफलबाट भने कार्तिकमा पनि ब्याजदरलाई स्थिर राख्ने सहमति भएको छ। कात्तिकमा असोजकै ब्याजदरलाई निरन्तरता दिइने शर्माले बताउनुभयो ।

बैंकहरुले असोजमा निक्षेपको ब्याजदर बढाएर १२.१३ प्रतिशत पुर्याएका थिए। बैंकहरुले ब्याजदर बढाउदा अहिले व्यवसायीहरुले पनि विरोध गरिरहेका छन्। ब्याजदर बढाउदा लागत मात्रै धेरै बढ्ने हुँदा अहिले बैंकरहरुले निक्षेपको ब्याजदर नबढाउने निश्कर्ष निकालेका हुन्।

असोज महिनाको अन्तिम दिन बैंकहरुले कात्तिकको लागि नयाँ ब्याजदर प्रकाशित गर्नुपर्ने हुन्छ। ब्याजदर घटाउनको लागि अर्थमन्त्रीले गठन गरेको समितिले भने ब्याजदर निर्धारण बजारलाई नै छोड्नुपर्ने सुझाव दिएको छ। समितिले तत्काल ब्याजदर घटाउन कुनै सुझाव नदिएकोले पनि अहिले ब्याजदरलाई यथावत राख्ने निश्कर्षमा बैंकरहरु पुगेका हुन्।

ब्याजदर बढ्दा बैंकहरुको लागत पनि बढेको छ। मुद्दती निक्षेपमा उच्च ब्याजदर हुँदा अहिले बैंकहरुको कुल निक्षेपमा करिब ६० प्रतिशत भन्दा धेरै हिस्सा मुद्दती निक्षेपको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *