तिहारअघि लाभांश पारित गर्दैछन् यी ५ ओटा कम्पनी

३१ आश्विन २०७९, सोमबार ०३:०७

काठमाडौं । तिहारअघि पाँच सूचीकृत कम्पनीहरूले प्रस्तावित लाभांश पारित गर्ने भएका छन् ।

हालसम्म कम्पनीहरूले सार्वजनिक गरेको वार्षिक साधारण सभाको सूचनाका आधारमा नेपाल ल्यूब आयल, सानिमा माई हाइड्रोपावर लिमिटेड, रु रु जलविद्युत परियोजना लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल र गुराँस लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न लागेका हुन । यी मध्य नेपाल ल्यूब आयल, सानिमा माई हाइड्रोपावर लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनले शेयरधनीहरूलाई तिहार खर्चको रुपमा नगद लाभांश समेत वितरण गर्नेछन् । अन्य कम्पनीले प्रस्ताव गरेको नगद लाभांश भने बोनस शेयर कर प्रयोजनका लागि मात्र रहेको छ ।

यस वर्ष वाणिज्य बैंकहरूमध्ये सिटिजन्स बैंक इन्टरनेशलले सबैभन्दा पहिला लाभांश पारित गर्न लागेको हो । सिटिजन्स बैंकले कात्तिक ४ गते १६औं वार्षिक साधारण सभामार्फत कर समेत गरी ९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्दैछ । पछिल्लो समय सभा सम्पन्न गरेको दिनदेखि नै बैंकहरूले नगद लाभांश वितरण गर्न शुरू गरेको अवस्थालाई हेर्दा यस बैंकका शेयरधनीहरूले तिहार खर्च पाउनेछन् । वाणिज्य बैंकहरूमध्ये कुमारी बैंकले पनि लाभांश प्रस्ताव सार्वजनिक गरिसकेको छ । कुमारी बैंकले कर समेत गरी १२ दशमलव ५० प्रतिशत नगद लाभांश प्रस्ताव सार्वजनिक गरेपनि साधारण सभाको मिति भने तय गरेको छैन ।

तिहारअघि नै सानिमामाई हाइड्रोका शेयरधनीहरूले समेत नगद लाभांश प्राप्त गर्नेछन् । सानिमा माई हाइड्रोपावरले कात्तिक २ गते ११ औं वार्षिक साधारण सभामार्फत प्रस्तावित कर समेत गरी ५ दशमलव २६ प्रतिशत नगद लाभांश पारित गर्दैछ । त्यस्तै नेपाल ल्यूब आयलले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव असोज २८ गते ३१औं वार्षिक साधारण सभा मार्फत पारित गर्दैछ । यस कम्पनीले समेत कर कटाएर बाँकी नगद लाभांश तिहारअघि नै वितरण गर्ने सम्भावना बलियो छ ।

तिहारअघि नै लाभांश पारित गर्न लागेका पाँच कम्पनीहरूमध्ये गुराँस लाइफ इन्स्योरेन्सले भने आर्थिक वर्ष ०७६र७७ को लाभांश पारित गर्न लागेको हो । गुराँस लाइफ इन्स्योरेन्सले ७ दशमलव ४२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश कात्तिक ४ गते १२औं वार्षिक साधारण सभामार्फत पारित गर्नेछ ।

रू रू जलविद्युत् परियोजनाले कात्तिक ४ गते नै १७ औं वार्षिक साधारण सभामार्फत १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *