विकास बैंककाे नाफा १ अर्बभन्दा बढी
राष्ट्रियस्तरका आठ ओटा विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।विवरणअनुसार यी कम्पनीहरूले कुल रू. १ अर्ब ९ करोड ७२ लाख नाफा कमाएका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३० प्रतिशत कम हो । गत आवमा ती कम्पनीहरूले रू. १ अर्ब ५६ करोडभन्दा बढी नाफा कमाएका थिए ।
चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । कम्पनीले रू. ३० करोड ७४ लाखभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने ११ दशमलव शून्य ५ प्रतिशतले कम हो । सो अवधिमा कम्पनीले रू. ३४ करोड ५५ लाख नाफा कमाएको थियो । चालू आवमा यस कम्पनीको इम्पेरिमेण्ट चार्ज बढेकाले सञ्चालन नाफा घटेको हो ।
त्यसैगरी दोस्रोमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रू. २० करोड ९१ लाख नाफा कमाएको छ । यस कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा ४१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १४ करोड ७३ लाख नाफा कमाएको थियो ।
गत आवको तुलनामा चालू आवमा आठ कम्पनीमध्ये तीन ओटा कम्पनीको नाफा बढेको छ भने बाँकी सबै कम्पनीको नाफा घटेको छ । नाफा घट्नेमा सबैभन्दा बढी कामना सेवा विकास बैंकको ७६ प्रतिशत घटेको छ ।
कम्पनीले गत आवमा रू. १७ करोड ५४ लाख नाफा कमाएकोमा चालू आवमा रू. ४ करोड १५ लाखमा सीमित भएको छ । यस कम्पनीको इम्पेरिमेण्ट चार्ज बढेसँगै सञ्चालन नाफा घटेको हो । नाफा घट्नुमा अधिकांश कम्पनीहरूको इम्पेरिमेण्ट चार्ज बढेको छ भने सञ्चालन नाफा घटेको छ । यस कारणले कम्पनीहरूको नाफा गत आवको तुलनामा चालू आवमा घटेको हो ।
एनपीएल बढ्याे
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रियस्तरका आठै विकास बैंकका मुख्य सूूचकहरु प्रभावित बनेका छन् । नाफामा आएको गिरावटसँगै राष्ट्रियस्तरका सबै बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेको छ ।
प्रथम त्रैमासमा सबैभन्दा बढी एनपीएल लुुम्बिनी विकास बैंकको बढेको छ । यस बैंकको एनपीएल १.८९ प्रतिशतले बढेर ३.२० प्रतिशतमा कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा एनपीएल १.३१ प्रतिशतमा सीमित थियो ।
यस्तै ज्योति विकास बैंकको सबैभन्दा धेरै एनपीएल बढेको छ । बैंकको एनपीएल १.८२ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष ०.६८ प्रतिशतमा सीमित रहेको एनपीएल यो त्रैमासमा २.५० प्रतिशतमा कायम भएको छ ।
महालक्ष्मी विकास बैंकको अघिल्लो वर्षको ३.०८ प्रतिशतमा सीमित रहेको एनपीएल बढेर ३.६२ प्रतिशत पुुगेको छ । समीक्षा अवधिमा कामना सेवा विकास बैंकको एनपीएल बढेर ३.४० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल १.७९ प्रतिशतमा सीमित थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकको एनपीएल पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १.६४ प्रतिशत रहेको एनपीएल अहिले ०.६३ प्रतिशतले वृद्धि भएर २.२७ प्रतिशत पुुगेको छ।
त्यस्तै गरिमा विकास बैंकको पनि एनपीएल १.०४ प्रतिशतबाट बढेर १.७१ प्रतिशत पुुगेको छ। अघिल्लो वर्ष ०.२३ प्रतिशतमा रहेको मुक्तिनाथ विकास बैंकको एनपीएल पनि बढेर ०.७७ प्रतिशत पुगेको छ।
प्रतिशतका आधारमा सबैभन्दा कम एनपीएल रेसुंगा डेभलपमेन्ट बैंकको बढेको छ। अघिल्लो वर्ष १.०१ प्रतिशतमा सीमित रहेको एनपीएल ०.०८ प्रतिशतले बढेर १.०९ प्रतिशतमा पुगेको छ ।