कुमारी र एनसीसी बैंकबीच मर्जरको अन्तिम सम्झौता, पुस १७ भित्र एकीकृत कारोबार
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ । दुवै बैंकबीच बुधबार कुमारी बैंकको केन्द्रीय कार्यालय टंगालमा मर्जरमा जानका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
दुबै बैंकका संचालक समितिहरुले १ः१ अनुपात स्वाप रेसियोमा मर्ज हुने गरी अन्तिम सम्झौता गरेका हुन् । यद्यपी कुमारी बैंक र एनसीसी बैंकले तयार गरेको डियू डेलिजेन्स (डीडीए) रिपोर्टमा १००ः९६.५९ को स्वाप रेसियो आएको थियो । डीडीए रिपोर्टमा कुमारी बैंकको १०० आउँदा एनसीसी बैंकको ९६.५९ स्वाप रेसियो आएको थियो ।
डीडीए रिपोर्टमा फरक स्वाप रेसियो आएको भएपनि समान हैसियतमा मर्ज हुने सहमति भएको हो । अर्थात् कुमारी बैंकमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने छन् ।
एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते प्रारम्भिक मर्जर सम्झौता भएको थियो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नुहुनेछ । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनुहुनेछ । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ । दुवै बैंकबीच एकीकृत कारोबार पुस १७ गतेभित्र गर्ने तयारी रहेको कुमारी बैंकका अध्यक्ष कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जेबी राणाले बताउनुभयो ।