निष्क्रिय कर्जा बढेसँगै मिर्मिरे लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी कति ?
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५८ प्रतिशत घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १३ करोड ८१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ५ करोड ६८ लाखमा सिमित भएको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जामा वृद्धि भएकाले , खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो ।
गत आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ५५ प्रतिशत रहेकोमा चालू आवमा बढेर ३ दशमलव ८४ प्रतिशत पुगेको छ । त्यस्तै गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २२ प्रतिशत र सञ्चालन नाफा ५८ प्रतिशत घटेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५२ दशमलव ९२ रहेकोमा चालू आवमा घटेर रू. १७ दशमलव ४१ मा सिमित भएको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ६५ करोड ३३ लाख रहेको छ भने चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३२ करोड ४२ लाख र रिटेन्ड अर्निङमा रू. ३ करोड ८८ लाख सञ्चित गरेको छ । कम्पनीले रू.५ अर्ब ३२ करोड सापटि लिएर,रू. २ अर्ब ८३ करोड निक्षेप संकलन गरेर रू. ८ अर्ब ७६ करोड भन्दा बढी कर्जा लगानी गरेको हो ।
दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरण योग्य नाफा रू. ४ करोड २० लाख रहेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ४७ दशलमव ८४ गुणा,तरलता अनुपात १८ दशमलव २० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५५ दशमलव ५७ रहेको छ ।