अर्थतन्त्रका संरचनात्मक समस्या समाधानको कार्ययोजना बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका संरचनागत समस्या समाधान गर्न अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई कार्ययोजना बनाउन निर्देशन दिएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।
राष्ट्रिय योजना आयोगले गर्ने यस्तो बैठकले चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा समेत गरेको छ । प्रधानमन्त्री प्रचण्डले बाह्य क्षेत्र सन्तुलनका लागि निर्यात प्रवर्द्धन गर्ने र आयात व्यवस्थापन गर्ने रणनीति तयार गरी कार्यान्वयनमा ल्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले औद्योगिक क्षेत्रको विकास र उद्योग सञ्चालनमा सहज वातावरण निर्माण गर्न जरुरी रहेको भन्दै निजी क्षेत्रलाई लगानीयोग्य साधन प्राप्तिमा कमी हुन नदिन वित्तीय क्षेत्र सुधार रणनीति तयार गरी कार्यान्वयनमा ल्याउन समेत निर्देशन दिएका छन् ।
मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पूँजीगत खर्च बढाउन समेत उनले मन्त्रालयहरुलाई निर्देशन दिए । उनले भने, ‘पूँजीगत खर्च समयमा हुन सकेन भने त्यसले विकास निर्माणको कार्य पछाडि पार्ने मात्र नभई त्यसबाट अर्थतन्त्रमा बहुआयामिक असर पर्छ । तसर्थ संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले पूँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिन आवश्यक छ ।’