बैंक ब्याजदर घटाउन राष्ट्र बैंकसँग छलफल भइरहेको छः अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व संकलनको अवस्था राम्रो नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. महतले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व संकलन लक्ष्य अनुसार संकलन राम्रो नभएको बताएका हुन् । उनले प्रत्येक वर्ष सरकारले जीडीपी र अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राखे पनि लक्ष्य प्राप्त हुँदै आएकोमा चालु आर्थिक वर्षमा लक्ष्य पूरा नहुने अवस्थामा रहेको बताए ।
अर्थमन्त्री डा. महतले आन्तरिक रूपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएका कारण अर्थतन्त्रमा समस्या देखिएको बताए । उनले मौद्रिक नीतिका उपकरणहरू प्रयोग गरी बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको बताए । उनले बैंकको कर्जाको ब्याजदर कम गर्न सक्ने अवस्था भए बैंकहरूले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले अर्थतन्त्रको अवस्थाको विषयमा जनतालाई सकारात्मक सन्देश दिन आवश्यक रहेको पनि बताए ।
अर्थमन्त्री डा. महतले अर्थतन्त्र बिग्रियो भने पनि कतिपय तथ्याङ्कहरू राम्रो रहेको बताए । उनले मुलुकमा लगानीको वातावरणलाई सकारात्मक बनाउन मौद्रिक नीति र सरकारको आर्थिक नीति एउटै लक्ष्य प्राप्तिका लागि जान जरुरी रहेको बताए । अर्थमन्त्री डा. महतले सरकारले साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने पक्षमा रहेको बताए । उनले सरकारले साधारण खर्च घटाउने सम्मभावना कम भए पनि सरकार खर्च नगरे पनि हुने खालका खर्चलाई कटौती गर्ने बताए ।