नेपाल र बंगलादेशबीच ऊर्जा बैठक आजदेखि, वर्षा अगावै बंगलादेशमा विद्युत बेच्ने तयारी
नेपाल–बंगलादेश ऊर्जा बैठक सोमवारदेखि हुँदै छ । बंगलादेशमा हुने बैठकमा विद्युत् व्यापारका लागि आवश्यक वातावरण कसरी तयार गर्ने भन्नेमा छलफल हुने बताइएको छ ।
बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले गर्दै छन् । बंगलादेशका तर्फबाट त्यहाँका ऊर्जासचिव हाबिबुर रहमानले नेतृत्व गर्नेछन् ।
बैठकको पहिलो दिन संयुक्त कार्यसमूहको बैठक बस्ने बताइएको छ । दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्नेछ । ऊर्जा बैठकमा सहभागी हुन बंगलादेश पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र व्यापारबारे छलफल हुने आर्थिक अभियानलाई बताए ।
ऊर्जा मन्त्रालयका अधिकारीहरूले सांकेतिक रूपमा मात्रै भए पनि बंगलादेशसँग बिजुलीको व्यापार शुरू गर्न सके त्यो महत्वपूर्ण उपलब्धि हुने बताउने गरेका छन् ।
यसबाट नेपाल बंगलादेश विद्युत् व्यापारको बाटो खुल्ने उनीहरूको भनाइ छ ।
नेपालले बंगलादेशलाई लिखु–४ जलविद्युत् आयोजनाको बिजुली बेच्ने प्रस्ताव राखेको छ । तर, बंगलादेशसँग विद्युत् व्यापारको लागि भारतको सहमति अनिवार्य छ । भारतले स्वीकृति दिएर आफ्नो प्रसारणलाइन प्रयोग गर्ने अनुमति दिए बंगलादेशसँग आगामी वर्षायामअगावै विद्युत् व्यापार शुरू गर्ने ऊर्जा मन्त्रालयको योजना छ ।
बैठकमा सुनकोशी–३ जलविद्युत् आयोजनाबारे पनि छलफल हुनेछ । यो परियोजना नेपाल र बंगलादेशले संयुक्त लगानीमा बनाउने सहमति पहिले नै भइसकेको छ ।
सहमतिअनुसार नेपालले बंगलादेशलाई सम्भाव्यता अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उपलब्ध पनि गराएको छ । बंगलादेशको निजीक्षेत्र पनि नेपालको जलविद्युत्मा लगानी गर्न इच्छुक रहेकाले त्यो लगानी कसरी ल्याउने भन्नेबारे बैठकमा छलफल हुने अधिकारीहरूले बताएका छन् ।