धौलागिरी र खप्तड लघुवित्तको सम्पूर्ण वित्तीय कारोबार असार १९ गते बन्द हुने
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार २० गतेदेखि एकिकृत कारोबार गर्दैछन् । गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले सात महिनाभित्र एकिकृत कारोबार सुरू गर्न लागेका हुन । एकिकृत कारोबारको तयारी स्वरुप असार १९ गते एक दिन दुबै कम्पनीको वित्तीय कारोबार बन्द हुने जानकारी कम्पनीहरूले दिएका छन् । दुई कम्पनी एक भई धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन । मर्जरपछि बनेको कम्पनीको केन्द्रिय कार्यालय गण्डकी प्रदेश बाग्लुङ जिल्ला , बाग्लुङ नगरपालिका वडा नम्बर २ बाग्लुङमा रहने जानकारी समेत कम्पनीहरूले दिएका छन् ।
मर्जर प्रयोजनका लागि दुबै कम्पनीको शेयर कारोबार भने असार २० गतेदेखि बढीमा १५ कारोबार दिन रोक्का रहनेछ । मर्जर तथा प्राप्ति सम्बन्धित पछिल्लो व्यवस्था बमोजिम एकिकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था रहेको छ । यी दुवै कम्पनीले हालै मात्र सर्वसाधारणमा आईपीओ निष्कासन गरेका हुन् । धौलागिरी लघुवित्तले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्सकासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।