ट्रेजरी बिल मार्फत २९ अर्ब ६६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

१८ असार २०८०, सोमबार ०७:०९

सरकारले सोमबार (आज) ट्रेजरी बिल मार्फत २९ अर्ब ६६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ गरी कुल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी साउन १६ गते, ९१ दिन अवधिको ट्रेजरी असोज १६ गते, १८२ दिन अवधिको पुस १७ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ असार २९ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले बैंकले २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ९ अर्ब ५३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब ३३ करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँ गरी कुल ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।

बैंकका अनुसार कूल ट्रेजरी मध्ये २४ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुरानो ट्रेजरी नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागिएको हो । कूल निष्कासित बिलमध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत बिना प्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *