विदेशी मुद्रा सञ्चिति १८ खर्बमाथि
चालू आर्थिक वर्षको पुस मसान्तमा देशको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति १८ खर्ब रुपैयाँ नाघेको छ । विप्रेषण तथा भ्रमण आयमा वृद्धि भए पनि आयात घटेपछि विदेशी मुद्राको सञ्चितिमा उल्लेख्य सुधार देखिएको हो ।
banner ads
विदेशी मुद्राको सञ्चिति न्यून बिन्दुमा झरेपछि सरकारले २०७९ वैशाखमा १० किसिमका बिलासी वस्तुको आयातमै प्रतिबन्ध लगाएको थियो । नेपाल राष्ट्र बैंकले भने त्यसअघि नै आयातलाई निरुत्साहित गर्न आयात एलसी खोल्दा नगद मार्जिनको व्यवस्था गरिसकेको थियो । त्यसपछि लगातार सुधार देखिएको विदेशी मुद्रा सञ्चिति २० महीनामा ५८ दशमलव ५१ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७७ कात्तिकमा १५ खर्ब ६ अर्ब रुपैयाँमा पुगेको विदेशी मुद्रा सञ्चिति २०७९ वैशाखमा ११ खर्ब ४६ अर्ब रुपैयाँ बराबरमा झरेको थियो । उक्त सञ्चितिले ६ दशमलव ६ महीनाको मात्र वस्तु तथा सेवा आयात धान्ने अवस्था थियो । २०८० पुसमा आइपुग्दा विदेशी मुद्राको सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो सञ्चितिले गत साउन–पुसकै अनुपातमा १४ दशमलव ५ महीनाको वस्तु र १२ दशमलव १ महीनाको वस्तु तथा सेवा आयात धान्छ ।
राष्ट्र बैंक र सरकारको नीतिगत सुधारका कारण अर्थतन्त्रको बाह्य अवस्था सबल बनेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । ‘सूचकहरूले हाम्रो अर्थतन्त्रको अवस्था बलियो देखिएको छ,’ उनले भने, ‘यसलाई सरकारले निर्माण तथा पूर्वाधार विकासमा प्रयोग गर्न सक्छ ।’
६ महीनामा ७३३ अर्ब विप्रेषण
चालू आर्थिक वर्ष (आव) को पुससम्ममा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५ दशमलव ३ प्रतिशतले बढेर ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो । यसपालि अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२ दशमलव ६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । पुस महीनामा मात्र १ खर्ब २० अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ ।
विप्रेषणलाई प्रोत्साहन गर्न सरकारले बैंकिङ च्यानलबाट विप्रेषण पठाउनेलाई धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको साधारण शेयरमा आरक्षणको व्यवस्था गर्नुका साथै राष्ट्र बैंकले साधारण निक्षेपको तुलनामा १ प्रतिशत बिन्दुले थप ब्याज दिने नीतिगत व्यवस्था गरेको छ ।
चालू आवको पुससम्ममा पर्यटकबाट हुने भ्रमण आय ४४ दशमलव ४ प्रतिशतले बढेर ३९ अर्ब ५६ करोड पुगेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
विप्रेषण र भ्रमण आय बढ्दा चालू खाता र शोधनान्तर बचत अझ माथि उक्लिएको छ । २०८० पुसमा चालू खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३५ अर्ब ५७ करोड रुपैयाँले घाटामा थियो ।
यसैगरी २०८० पुसमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा थियो ।
निक्षेप/कर्जामा सुधार
अर्थतन्त्रको बाह्य अवस्थामा सुधारसँगै बैंक, वित्तीय संस्थाको निक्षेप तथा कर्जा प्रवाह पनि बढेको देखिएको छ । चालू आवको पुससम्ममा निक्षेप ६ दशमलव ६ प्रतिशत अर्थात् ३ खर्ब ७७ अर्ब ७ करोडले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा निक्षेप ४ दशमलव २ प्रतिशतले बढेको थियो ।
यसैगरी अघिल्लो आवको पुसम्ममा ३ प्रतिशतले बढेको कर्जा प्रवाह यसपालि ४ प्रतिशतले वृद्धि भएको छ । बैंकहरूको निक्षेप तथा कर्जाको ब्याजदर र आधारदरसमेत घटिरहेको राष्ट्र बैंकले बताएको छ ।