कर्जा जोखिम व्यवस्थामा सहुलियतले बैंकहरूलाई राहत
नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाहरूले कर्जा नोक्सानी जोखिम (प्रोभिजन)बापत छुट्ट्याउनुपर्ने रकम घटाएसँगै बैंकहरूलाई राहत भएको छ ।
राष्ट्र बैंकले जेठको पहिलो साता चालू आर्थिक वर्ष (आव) २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा बैंकहरूले असल वर्गमा वर्गीकृत कर्जाको प्रोभिजन १ दशमलव २५ प्रतिशतबाट घटाई १ दशमल २० प्रतिशत कायम गर्ने घोषणा गरेको थियो । दोस्रो साता निर्देशन जारी गरी उक्त प्रावधान कार्यान्वयनमा ल्याएको थियो । असल कर्जाको प्रोभिजन घटेपछि बैंकहरूको समग्र प्रोभिजन रकममा पनि कमी आएको छ ।
राष्ट्र बैंकले प्रकाशित गरेको बैंकहरूको मासिक तथ्यांकअनुसार चालू आवको जेठसम्ममा बैंक, वित्तीय संस्थाहरूले कुल ७७ अर्ब ७९ करोड रुपैयाँ प्रोभिजन गरेका छन् । चालू आवकै वैशाखसम्ममा ७८ अर्ब ५० करोड रुपैयाँ प्रोभिजन गरेकोमा जेठमा शून्य दशमलव ९१ प्रतिशतले कमी आएको छ ।
आर्थिक गतिविधिमा आएको शिथिलतासँगै बैंकहरूको कर्जा असुुली नहुँदा खराब कर्जा बढिरहेको छ । कर्जा असुली नहुँदा खराब कर्जा अनुपात वृद्धि भएपछि बैंकहरूले प्रोभिजनमा सहुलियत माग गर्दै आएका छन् ।
कोभिड–१९ महामारीअघिसम्म असल कर्जामा १ प्रतिशत मात्र प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो । कोभिडकालमा बढाएर १ दशमलव ३० प्रतिशत पुर्याएकोमा गत आवमा घटाएर १ दशमलव २५ प्रतिशत कायम गरिएको थियो । यस्तै चालू आवको जेठमा पुन: १ दशमलव २० प्रतिशतमा झारिएको छ ।
कोभिड महामारीमा कर्जामा जोखिम बढि भएकाले प्रोभिजन बढाइएको र त्यसलाई पहिलाकै अवस्थामा ल्याउन सुझाव दिइएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । अहिले बैंकहरूको खराब कर्जा बढिरहेको अवस्थामा प्रोभिजनमा छूट दिँदा बैंकहरूलाई थोरै राहत भएको उनको भनाइ छ ।
वैशाखको तुलनामा जेठसम्ममा वाणिज्य बैंकहरूको प्रोभिजन शून्य दशमलव ७९ प्रतिशतले घटेको छ । वैशाखसम्ममा ६७ अर्ब ४८ करोड रुपैयाँ प्रोभिजन गरेकोमा जेठमा घटेर ६६ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ । वैशाखको तुलनामा जेठमा विकास बैंकहरूको १ दशमलव ७० र फाइनान्स कम्पनीहरूको १ दशमलव ३१ प्रतिशतले प्रोभिजन घटेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले अहिले कर्जा प्रवाह गर्नेबित्तिकै १ दशमलव २० प्रतिशत रकम प्रोभिजन गनुपर्ने व्यवस्था छ । यस्तै कर्जा १ महीनाभन्दा बढी भाखा नाघेमा सूक्ष्म निगरानीमा राखी कर्जाको ५ प्रतिशत, तोकिएको समयभन्दा ३ देखि ६ महीनासम्म भाखा नाघेमा २५ प्रतिशत, ६ महीनादेखि १ वर्षसम्मको भाखा नाघेमा ५० प्रतिशत र १ वर्षभन्दा बढी भाखा नाघेमा शतप्रतिशत
प्रोभिजन गर्नुपर्छ । राष्ट्र बैंकका अनुसार चालू वर्षको जेठसम्ममा बैंक, वित्तीय संस्थाले ६१ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यस अवधिसम्ममा वाणिज्य बैंकहरूले ५६ अर्ब ४५ करोड, विकास बैंकहरूले ४ अर्ब ९५ करोड र फाइनान्स कम्पनीहरूले ५४ करोड रुपैयाँ खुद नाफा गरेका छन् । गत आवको तुलनामा यस वर्ष बैंकहरूको नाफा १६ प्रतिशतले कम छ ।
बैंकहरूले निक्षेप वृद्धिअनुसार कर्जा प्रवाह गर्न नसक्दा आम्दानी बढ्न सकेको छैन । यस्तै खराब कर्जा वृद्धि हुँदा पनि नाफा प्रभावित भएको छ । कर्जा असुली नहुँदा चालू वर्षको तेस्रो त्रैमासमा १० ओटा वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा नकारात्मक थियो ।