जलवायु परिवर्तनको जोखिममा जलविद्युत् आयोजना

२१ श्रावण २०८१, सोमबार ०४:०८

साउन १५ गते रातिको भीषण वर्षाका कारण आएको पहिरोले भोजपुरको थुलुङ (लाहुरे) खोला थुनिएर बनेको बाँध फुट्दा ४ दशमलव ३ मेगावाटको फेदी थुलुङ खोला र १४ दशमलव ५ मेगावाटको अप्पर इखुवा खोला जलविद्युत् आयोजनामा ठूलो क्षति पुग्यो । आरती पावर कम्पनीद्वारा निर्माणाधीन यी दुई आयोजनामा बाढीका कारण करीब ६० करोड रुपैयाँ बराबरको क्षति भएको कम्पनीले बताएको छ ।

गतवर्ष पनि असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० ओटा जलविद्युत् आयोजनामा बाढी पस्दा करीब ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जानकारी दिएको छ । यी घटनाले जलविद्युत्को विकासमा बाढीपहिरोको जोखिम सम्बोधन गर्नुपर्ने महत्त्वपूर्ण विषयका रूपमा आएको सरोकारवालाहरू बताउँछन् ।

‘खासगरी जलवायु परिवर्तनका कारण बाढीपहिरोको जोखिम बढ्दै गएको र जलविद्युत् आयोजनाहरूमा वर्षेनि अर्बौं रुपैयाँ बराबरको क्षति हुने गरेको छ,’ जलधारविज्ञ मधुकर उपाध्यायले भने, ‘तर, अझै पनि जलवायु परिवर्तनले आयोजनाहरूमा पर्न सक्ने असरका बारेमा पर्याप्त अध्ययन हुन सकेको छैन ।’

उनका अनुसार आयोजनाको केही किलोमीटर आसपासका स्थानमा खोलाको बहाव र भूक्षयले गर्न सक्ने क्षति र असरका बारेमा अध्ययनहरू भए पनि त्यसभन्दा माथिल्लो क्षेत्रमा जानसक्ने सम्भावित पहिरो वा भूक्षयका बारेमा पर्याप्त मात्रामा पूर्वअध्ययन नहुँदा क्षति बढ्दै गएको छ ।

  •  गत साताको बाढीले ४.३ मेगावाटको फेदी थुलुङ खोला र १४.५ मेगावाटको अप्पर इखुवा खोला जलविद्युत् आयोजनामा क्षति
  •  गतवर्ष ३० ओटा जलविद्युत् आयोजनामा बाढी पस्दा करीब ८ अर्ब रुपैयाँको भौतिक संरचना नष्ट
  •  माथिल्लो भेगमा पहिरोले खोला तथा नदी थुनिएर बनेको ताल/बाँध फुट्दा तल्लो भेगका संरचनामा व्यापक क्षति

केही वर्षयता माथिल्लो भेगमा पहिरो गई खोला तथा नदी थुनिने र पछि थुनिएको पानी माटोको लेदोसहित तलतिर बग्दा तल्लो भेगका संरचनामा व्यापक क्षति हुने गरेको छ । मेलम्ची खानेपानी आयोजनामा पनि मेलम्ची नदी थुनिएर बाढी आउँदा बाँध क्षेत्रमा ठूलो क्षति भएको एशियाली विकास बैंकको अध्ययनले देखाएको थियो ।

यस्तो जोखिम बढ्दै गएको जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएका लगानीकर्ताले समेत स्वीकार गरेका छन् । हालै मात्र बाढीबाट आयोजनामा क्षति बेहोरेको आरती पावर कम्पनीका कार्यकारी निर्देशक प्रकाश दुलालले पनि त्यस्तो क्षति कम गर्न पर्याप्त मात्रामा अध्ययन तथा तयारी नपुगेको बताएका छन् ।

दुलालका अनुसार आयोजनास्थलको माथिल्लो भेगमा पहिरो खसेर खोला अवरुद्ध भई बनेको ताल/बाँध एक्कासि भत्किएर लेदोसहितको बाढी आउँदा आयोजनामा केही मानवीय क्षतिसहित करीब ६० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

निर्माण कार्यमा खटिएका श्याम चैधरी र रमेश चौधरी बेपत्ता छन् भने रामकुमार चौधरीलाई करीब १ किलोमीटर तल घाइते अवस्था भेटिएको थियो । १ जना स्थानीय महिला पनि बेपत्ता भएकाले उनको खोजी कार्य जारी छ । आयोजनाको निर्माण कार्यमा खटिएका मजदूर बस्ने क्याम्प, क्रशर, जडान गरिएको करीब ५०० मीटर पाइपसमेत बाढीले बगाएको छ । त्यसैगरी विद्युत्गृहको सुरक्षाका लागि बनाइएका संरचना, कामदार शिविर, आयोजना निर्माणमा प्रयोग भइरहेको स्काभेटर, ट्याक्टर, मोटरसाइकल समेत बाढीले बगाएको छ ।

नेपालमा प्राय:जसो जलविद्युत् आयोजनाहरूभन्दा माथिल्लो भेगमा पहाडको ढिस्को खसेर नदी/खोला थुनिएर बनेको बाँध फुटेपछि आउने बाढीका कारण क्षति पुग्ने गरेको जलविज्ञ उपाध्याय बताउँछन् । जलवायु परिवर्तनका कारण पहाडका धरातल वा चट्टान र माटो खुकुलो/कमजोर हुँदै गएकाले जति बेला पनि त्यसले ठूलो जोखिम निम्त्याउन सक्ने तर्क उपाध्यायको छ ।

विश्व बैंकले अक्टोबर २०२२ मा आफ्नो नेपाल विकास अपडेट प्रतिवेदनमा जलवायु परिवर्तनले बाढी र पहिरो धेरै मात्रामा निम्त्याइरहेको बताएको छ । ‘हालका वर्षहरूमा बाढीका घटनाहरूको संख्या दोब्बर भएको छ । हावाहुरी, कटान र पहिरो पनि बढ्दै गएको छ, जसले गर्दा जीवन र जीविकोपार्जनको नोक्सानी भइरहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार पहाडहरू तराईको तुलनामा छिट्टै तात्दै गएकाले हिउँ र पर्माफ्रोस्ट पग्लने र पहिरोको जोखिम बढेको छ । जर्मनीको बोनमा रहेको गैरसरकारी संस्था जर्मनवाचले तयार पारेको ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स २०२१ अनुसार नेपाल विश्वका सबैभन्दा बढी प्रभावित देशहरूमा १०औं स्थानमा छ ।

‘जलवायुमा भएको परिवर्तनका कारण पछिल्ला केही वर्षयता केही सीमित स्थानमा छोटो समयमा भारी वर्षा हुने गरेको छ । यसले गर्दा कमजोर भएका पहाडहरूमा चाँडो क्षति पुग्ने समस्या देखिँदै आएको छ । नेपालको परिप्रेक्ष्यमा जलवायु परिवर्तनले गर्ने असरका बारेमा पर्याप्त मात्रामा चर्चा तथा अध्ययन हुन सकेकै छैन,’ उपाध्यायले आर्थिक अभियानसँग भने ।

विश्व बैंकले २०२१ मा तयार गरेको नेपालको जलवायु जोखिम देशको प्रोफाइलअनुसार नेपालको ऊर्जा उत्पादनको करीब ९० प्रतिशत जलविद्युत्बाट हुने गरेको उल्लेख छ । त्यसैले भविष्यको अनिश्चित वर्षा प्रणाली, बढ्दो हिमनदी पग्लिने क्रम, पहिरो र हिमताल विस्फोटका जोखिममा कारण जलविद्युत्मा अति भर पर्दा नेपालका लागि जोखिमयुक्त हुन सक्ने चेतावनी पनि प्रतिवेदनमा दिइएको छ ।

बाढीबाट हुने जोखिमको पूर्वसूचना दिने प्रणाली नेपालमा भए पनि पहिरोबाट हुन सक्ने जोखिम नाप्ने वा पूर्वसूचना दिने प्रणाली विकास नभएको विज्ञहरू बताउँछन् । अन्य मुलुकमा यस्तो प्रणाली पनि विकास भइसकेकाले नेपालमा समेत यसबारे अध्ययन गरेर लागू गर्न सके ठूलो क्षति हुनबाट जोगिन सकिने उपाध्यायको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *