वर्षाजन्य विपित्तमा ६६ जनाको निधन, ६९ बेपत्ता

१३ आश्विन २०८१, आईतवार ०६:३६

बिहीवारदेखिको भारी वर्षाजन्य विपत्तिबाट शनिवार साँझ ६ बजेसम्म देशभरमा ६६ जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६९ जना बेपत्ता र ६० जना घाइते भएका छन् ।

भारी वर्षा, बाढी र पहिरोले गर्दा सडक र हवाई यात्रा अवरुद्ध भएको छ । शुक्रवार र शनिवारको वर्षाजन्य बाढीपहिरोले विभिन्न २३ राजमार्गले छुने २६ जिल्लाका ६४ स्थानको सडक दुईतर्फी रूपमै अवरुद्ध भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रवारबाटै आन्तरिक उडान ठप्प प्राय: थियो । अन्तरराष्ट्रिय उडान भने नियमित चलेको थियो ।

  •  २३ राष्ट्रिय राजमार्गका ६४ स्थान अवरुद्ध
  •  आन्तरिक उडान झन्डै पूर्णरूपमा प्रभावित 
  •  सडक र पुलमा गरी ४६ करोड २५ लाखको क्षति
  •  रोकिएका गाडी नागढुंगा शुरूङमार्गबाट काठमाडौं छिरे

सडक विभागले शनिवार साँझ ६ बजेसम्म अद्यावधिक गराएको विवरणअनुसार विभिन्न राष्ट्रिय राजमार्गका ६४ स्थानमा सडक अवरुद्ध भएका छन् । २६ जिल्लाका ६४ सडक खण्डमा यातायात पूर्ण बन्द रहेको विभागले जानकारी गराएको छ । संघीय राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा–नौबीसे–मुग्लिन सडकको धादिङ जिल्लामा पर्ने कमेरे, मलेखु, शीलताबजारलगायत स्थानमा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी गराएको छ । मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले नागढुंगा शुरूङमार्गको पश्चिम पोर्टलतर्फ रोकिएका यात्रुवाहक र मालवाहक सवारीसाधनलाई निर्माणाधीन शुरूङमार्गबाट काठमाडौं भित्त्याउन सहजीकरण गरिएको जानकारी दिए ।

मन्त्रालयले अवरुद्ध सडक छिटो खुलाउने र पुल बगाएका ठाउँमा बेलिब्रिज राखेर यातायात सुचारू गराउने प्रयास भइरहेको जानकारी गराएको छ । यस्तै मुग्लिन–पोखरा तथा मलेखु–मुग्लिन–नारायणगढ सडक खण्डको पहिरो पन्छाई यातायात सुचारु गरिएको मन्त्रालयले शनिवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विपी राजमार्गको भुरुङ्गे, माथिल्लो सिस्नेरी, माम्ती, नेपालथोक, मंगलटारलगायत स्थानका अवरोध हटाउने प्रयास भइरहेको छ । पुप्पलाल राजमार्गको सिन्धुलीमा पर्ने विभिन्न खण्ड, कान्ति राजपथ, त्रिभुवन राजपथ, अरनिको राजमार्ग, मिर्चैया–कटारी–घुर्मी, शहीद मार्ग रोल्पा, भेरी कोरिडोर, साल्झण्डी–सन्धिखर्कलगायत स्थानको पहिरो हटाउने काम पनि भइरहेको बताइएको छ । हेवा खोलाको बेलिब्रिज र अरनिको राजमार्गको लार्चास्थित बेलिब्रिज बगाउँदा आवागमन अवरुद्ध भएको छ । दोलखा र रामेछाप जिल्लालाई तराईका जिल्लासँग जोड्ने खुर्कोटको सुनकोशी नदीमाथिको पुल पनि बायाँतर्फको स्पान पूर्णरूपमा क्षतिग्रस्त भएको छ । मन्त्रालयले ती स्थानमा छिट्टै बेलिब्रिज राखेर आवागमन सुचारु गराउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

बाढीपहिरोका कारण राष्ट्रिय राजमार्गमा भएको अवरोध हटाउन सडक विभागले भारी उपकरण र जनशक्ति पूर्णरूपमा परिचालन गरेको दाबी गरेको छ । साथै नपुग मेशिन भाडामा लिएर भए पनि छिटोभन्दा छिटो अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको विभागको भनाइ छ । विभागका अनुसार शनिवारको अविरल वर्षाले त्रिभुवन राजपथको मकवानपुर र धादिङ जिल्लाका विभिन्न खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोकस्थित कोदारी, सिम्ले, दोलालघाट सडक खण्ड अवरुद्ध भएका छन् ।

यस्तै ललितपुरको ग्वार्काे–लुभु–लाकुरीभञ्ज्याङ खण्ड, पुष्पलाल राजमार्गको सिन्धुलीस्थित अक्करेभीर पनि अवरुद्ध भएको छ । पुष्पलाल राजमार्गकै ओखलढुंगा, मिर्चैया–कटारी–घुर्मीको उदयपुरस्थित चुरिया खण्ड अवरुद्ध छन् ।

वर्षाका कारण मुस्ताङदेखि पश्चिम रूकुम जाजरकोट, गुल्मी, पाल्पा, अर्घाखाँची, मकवानपुर, सल्यानलगायत जिल्लाको यातायात अवरुद्ध हुन पुगेको छ । सबैभन्दा धेरै सल्यान जिल्लाका सडक अवरुद्ध भएको विभागको भनाइ छ । काभ्रेपलाञ्चोक, दाङ, धादिङ, सिन्धुपाल्चोक, ललितपुर, ओखलढुंगा, उदयपुर, रोल्पा, जाजरकोट, खोटाङ, पाँचथर, धनकुटा, बाग्लुङ, सोलुखुम्बु, पाल्पा, पर्वतलगायत जिल्लाको सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यता त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिङ्जी शेर्पाले मौसम प्रतिकूल हुँदा अधिकांश आन्तरिक उडान रोकिएको बताए । तर, शनिवार अन्तरराष्ट्रिय उडान भने निरन्तर भएको उनले जानकारी दिए । कार्यालयका अनुसार सामान्य अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक ३०० भन्दा बढी उडान अवतरण हुन्छन् । तर, शुक्रवार र शनिवार धेरै उडान प्रभावित भएको शेर्पाले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिवार साँझ एक सूचनामार्फत विराटनगर, चन्द्रगढी, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान गर्न अनुमति दिइएको बताएको छ । उडान भने रूटको मौसम कस्तो छ त्यसमा भर पर्ने पनि प्राधिकरणको भनाइ छ ।

यसअघि जल तथा मौसम विज्ञान विभागले बिहीवारदेखि आइतवारसम्म ४ दिन भारी एवं अति भारी मनसुनी वर्षा हुने सूचना सार्वजनिक गरेको थियो । त्यसअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार नै सूचना जारी गरेर शुक्रवार र शनिवार उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लामा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन भनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *