शिलान्यास गर्दा दमक भ्यु टावर, उद्घाटन गर्दा व्यापारिक कम्प्लेक्स
प्रधानमन्त्री केपी ओलीले आइतबार झापाको दमक नगरपालिका– ३ मा बनेको १८ तले भ्यु टावरको उद्घाटन गरेका छन् । निर्माण सम्पन्न हुँदासम्म सहरी विकास मन्त्रालयले दमक भ्यु टावरको नाममा बजेट विनियोजन गरेको थियो । तर, भ्यु टावरको आलोचना भएपछि भने उद्घाटनका क्रममा नाम फेरेर दमक व्यापारिक कम्प्लेक्स राखिएको छ ।
उद्घाटनका क्रममा ओलीले ‘भ्यु’ मात्र हेर्ने टावर भनेर आलोचना गरे पनि यो व्यापारिक कम्प्लेक्स भएको बताए । उनले शिलान्यास गर्दा दमक भ्यु टावरको नाममा शिलान्यास गरेका थिए । यसको आलोचनापछि भने सहरी विकास मन्त्रालय यसको नाम दमक व्यापारिक कम्प्लेक्स राखेर उद्घाटन गरेको छ ।
ओलीले भ्यु टावर उद्घाटन ठुलो कार्यसफलता भएको दाबी गरे । उनले यस्तो अग्लो व्यापारिक कम्प्लेक्स देशभर कतै नभएको पनि बताए । ‘यस्तो ठुलो व्यापारिक कम्प्लेक्स देशभर कतै छैन । पहिला बुझ्नलाई समय लाग्छ,’ उनले भने, ‘मलेसियामा टुइन टावर बनाउँदा माथिरको आलोचना गरे । दुबईमा बुर्जखलिफा बनाउँदा पनि आलोचना भयो । अहिले टुइन टावर मलेसियाको प्रतिमा बनेको छ, आज महŒव बुझ्दै छन् ।’
व्यापारिक कम्प्लेक्स दमक र झापाकै पहिचान बन्ने ओलीले दाबी गरे । भ्यु टावरले विकासका सम्भावना खुल्ने दाबी गर्दै उनले दमकलाई स्मार्ट र आधुनिक सहर बनाउने बताए । अब यहाँका मानिस हङकङ, स्विट्जरल्यान्डजस्ता मुलुक घुम्न जान नपर्ने उनले बताए । दमक बजारमा ल्यान्डपुलिङ र हाउसपुलिङको सम्भावना नभएकाले आफूले भ्यु टावर सहरभन्दा केही टाढा गाउँमा बनाएको पनि दाबी गरे । ‘यो व्यापारिक कम्प्लेक्स जब चल्छ अनि हेर्नुहोला कस्तो रहनेछ, के दिनेछ । यसले अझ चिज दिनेछ,’ उनले भने, ‘हामीले यसलाई मणि बनाएका छौँ, ढुंगा बनाएर फाल्दैनौँ ।’

ओलीले डेढ अर्बभन्दा बढी लागतको भ्यु टावर उद्घाटन गरिरहँदा भ्यु टावरसम्म पुग्ने धुलाम्मे र कच्ची सडकको यात्रा गर्दै स्थानीय आइपुगेका थिए । उद्घाटनका समयमा धुलो उड्छ भनेर पानी हालिएको थियो । २६ असार ०७६ मा ठेक्का सम्झौता भएको भ्यु टावरको निर्माण गत वर्षको माघमा सकिएको थियो । यसको निर्माणको जिम्मा चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले लिएका थिए । निर्माण सम्पन्न हुँदासम्म एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँ खर्च भएको सहरी विकास मन्त्रालयले जनाएको छ । यो कम्प्लेक्समा दृश्यावलोकनसँगै व्यापारिक, व्यावसायिक, मनोरञ्जनात्मक र कर्पोरेट कार्य हुने सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताए ।
भ्यु टावरको प्रवेशसँगै मनोरञ्जनात्मक बगैँचा तथा बालबालिकाका लागि खेल्ने स्थान रहेको उनले बताए । भ्यु टावरमा ४० वटा चारपांग्रे सवारी र दुई सयवटा दुईपांग्रे सवारी पार्किङ गर्न मिल्ने सिग्देलले बताए । भ्यु टावरको पहिलो तलादेखि तेस्रो तलासम्म कमर्सियल रिटेल स्पेस, पाँचौँदेखि नौ तलासम्म कर्पोरेट स्पेस, दसौँदेखि १३औँ तलासम्म एक्जिबिसन र ग्यालरी तथा १४औँ र १५औँ तलामा रेस्टुरेन्ट र क्याफे चलाउन मिल्ने उनले बताए । त्यहाँदेखि माथि दृश्यावलोकन गर्न सकिने सिग्देलको भनाइ छ । यो कम्प्लेक्स स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दृष्टिकोणको आधार भएको बताए ।
प्लटिङ व्यवसायीले दिएका थिए जग्गादान
दमक– ३ स्थित दापगाछीमा बनेको भ्यु टावर दमक चोकदेखि करिब पाँच किलोमिटर उत्तर–पश्चिममा पर्छ । त्यो स्थान दमकको ग्रामीण क्षेत्रमा पर्छ । यस्तो ठाउँमा सरकारले जग्गा दलालको चंगुलमा पसेर अर्बौँको आयोजना ल्याएको छ । भ्यु टावर निर्माणका लागि जग्गा दलालले जग्गादान गरेका हुन् । शनिबार भ्यु टावरबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा परिचय गर्न नदिएको भन्दै जग्गादाता तथा ‘माँ पञ्चकन्या हाउजिङ प्रालि’का अध्यक्ष कृष्णराज खतिवडा रिसाएका थिए । उनी रिसाएपछि परिचय गर्न दिएको थियो ।
भ्यु टावरका जग्गादातामध्ये केवलीप्रसाद खरेल, टंकप्रसाद सिटौला, कृष्णराज खतिवडा, रुद्रप्रसाद दाहाल र दीपक प्रसाईं जग्गा व्यवसायी हुन् । उनीहरूबाट ०७३ मा चार बिघा १८ कट्ठा साढे सात धुर जग्गा प्राप्त भएको थियो । नगरपालिकाले प्रतिबद्धता गरेअनुसार पछि केही स्थानीयबाट थप जग्गा प्रप्त भएको थियो । यी पाँचजनाले भ्यु टावरलाई दिएको जग्गा उनीहरूको पुख्र्यौली वा पुरानो जग्गा होइन । भ्यु टावर बन्नु एक वर्षअघि स्थानीयबाट जग्गा सस्तोमा किनेर उनीहरूले भ्यु टावरलाई दान गरेका हुन् । जग्गा दिने ‘माँ पञ्चकन्या हाउजिङ प्रालि’ले घर जग्गाको कारोबार गर्छ । जसको सम्पर्क कार्यालय भ्यु टावरको ठिक अघि छ । भ्यु टावरका लागि जग्गा दिनुभन्दा एक वर्षअघि हाउजिङ प्रालि र यसका पाँच सञ्चालकले भ्यु टावरवरिपरि जग्गा खरिद गरेका थिए । उनीहरूले त्यहाँका स्थानीयको करिब १२ बिघा जग्गा सस्तोमा खरिद गरेका थिए । १२ बिघामध्येबाट चार बिघा १८ कट्ठा साढे सात धुर जग्गा उनीहरूले दिएका हुन् ।
भएन वातावरणीय प्रभाव मूल्यांकन र नक्सापास
भ्यु टावर निर्माणपूर्व गर्नुपर्ने सामान्य काम पनि हुन सकेको छैन । कुनै पनि ठुलो आयोजनाको काम सुरु गर्दा नै वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्छ । तर, दमकमा भ्यु टावर बनाउन उपयुक्त छ कि छैन भनेर वातावरणीय प्रभाव मूल्यांकनसम्म गरिएन । निर्माण सुरु भएको पाँच वर्षसम्म पनि सुरुवाती कामसमेत भएको छैन । वन मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख मेघनाथ काफ्लेले ठुलो आयोजना निर्माण गर्नुअगावै प्रभाव मूल्यांकन गर्नुपर्ने बताए । सहरी विकास मन्त्रालयले भने वातावरण प्रभाव मूल्यांकनका लागि वन मन्त्रालयमा प्रस्ताव लगिएको र स्वीकृतिको तयारीमा रहेको दाबी गरेको छ । भ्यु टावरको दमक नगरपालिकाबाट नक्सापास भएको छैन । १८ तले भव्य संचरना निर्माण गर्दासमेत घरनक्सा पनि पास नगरिएको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बताइन् ।
अझै बनेको छैन सञ्चालन मोडालिटी
दमक भ्यु टावर (बिजनेस कम्प्लेक्स)को भव्य उद्घाटनपछि अब यहाँ कस्तो व्यवसाय सञ्चालन होला ? यसको उत्तर सहरी विकास मन्त्रालयसँग पनि छैन । भ्यु टावर निर्माणको काम पूरा भएपछि सरकारले विशिष्ट संरचनाको सञ्चालन र व्यवस्थापन निजी क्षेत्रलाई दिने गरी विकास समिति (गठन) आदेश जारी गरिसकेको छ । जसअन्तर्गत दमकको भ्यु टावर पनि सञ्चालन हुनेछ । तर, भ्यु टावरमा कस्ता व्यापार तथा व्यवसाय सञ्चालन हुन्छ भन्ने मोडालिटी अझै तयार भएको छैन । सहरी विकास मन्त्रालयले सञ्चालन मोडालिटी बिस्तारै तयार गर्ने जवाफ दिएको छ । सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले दमक झापाको ठुलो व्यापारिक केन्द्र भएकाले त्यहीअनुसार अध्ययन गरेर भ्यु टावरको प्रयोग हुने बताए । उनले भ्यु टावरका सबै तला अलग–अलग प्रयोजनका लागि प्रयोग हुन सक्ने गरी निर्माण गरिएको बताए ।
‘व्यापारिक कम्प्लेक्सको उद्घाटन भनेको जे उद्देश्यका लागि बनेको हो, त्यसका लागि चाँडै अघि बढाउँछौँ । सरकारले विशिष्टीकृत संचरना सञ्चालनका लागि कार्यविधि पनि स्वीकृत गरेको छ । अब हामी यसलाई जे उद्देश्यले बनेको हो त्यसको सञ्चालनका लागि तत्काल अघि बढाउँछौँ,’ सचिव सिग्देलले भने, ‘व्यक्तिगत र निजी प्रतिष्ठानले निर्माण गरेजस्तो हुँदैन, सरकारी संरचनाको भाडामा लगाउने आफ्नै कार्यविधि हुन्छ । सबै कानुनी प्रक्रिया र विधि पूरा गर्न केही समय लाग्छ । हामी त्यसलाई तत्कालै अगाडि बढाउँछौँ ।’ चिरञ्जीवी घिमिरे
सम्बन्धित खबर
उपभोग्य वस्तुदेखि कच्चा पदार्थसम्मको आयात खस्कियो
२७ मंसिर २०८२, शुक्रबार
ट्रेजरी बिल मार्फत २९ अर्ब ६६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक
२७ मंसिर २०८२, शुक्रबारएपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२७ मंसिर २०८२, शुक्रबार
