जीवन बीमा कम्पनीको लगानी सात खर्ब ५७ अर्ब पुग्यो

६ भाद्र २०८२, शुक्रबार ०४:२२

जीवन बीमा कम्पनीको लगानी ११ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा सात खर्ब ५७ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरूले ६ खर्ब ८२ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

गत वर्ष सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लगानी सबैभन्दा धेरैले बढेको छ । प्राधिकरणको तथ्यांक अनुसार सन नेपालको लगानी ३२.३६ प्रतिशतले बढेर १५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको लगानी ११ अर्ब ४७ करोड रुपैयाँ थियो । राष्ट्रिय बीमा कम्पनीको लगानी भने २६ प्रतिशतले बढेर ६२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४९ अर्ब २४ करोड रुपैयाँ लगानी गरेको थियो।

यस्तै, सिटिजन नेपालको लगानी २५.५० प्रतिशतले बढेर २४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १९ अर्ब २४ करोड रुपैयाँ लगानी गरेको थियो । रिलायबल लाइफको लगानी २२.२२ प्रतिशतले बढेर १९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको लगानी १६ अर्ब २६ करोड रुपैयाँ लगानी थियो । यस्तै, गत वर्ष हिमालयन र प्रभु महालक्ष्मी इन्स्योरेन्सको लगानी २०/२० प्रतिशतले बढेको छ ।

७१ प्रतिशत लगानी बाणिज्य बैंकको मुद्दती निक्षेपमा

जीवन बीमा कम्पनीले कुल लगानीको ७१ प्रतिशत रकम बाणिज्य बैंक र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा लगानी गरेका छन् । प्राधिकरणले भने कम्पनीले यस क्षेत्रमा आफ्नो लगानीको बढीमा ३० प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर, कम्पनीहरूले अन्य क्षेत्रलाई वेवास्ता गर्दै बाणिज्य बैकमा नै लगानी गरेका छन् ।

बीमा कम्पनीले बीमितबाट संकलन गरेको बीमाशुल्क विभिन्न क्षेत्रमा लगानी गर्छन् । लगानीबाट प्राप्त प्रतिफलबाट नै बीमितहरुलाई बोनस वितरण गर्छन् । त्यसैले कम्पनीहरूले लगानीका लागि सुरक्षित क्षेत्र खोज्ने गरेको बीमकहरु बताउँछन् । नेपालको हकमा अन्य क्षेत्रको तुलनामा बाणिज्य बैंकको मुद्दती निक्षेप सुरक्षित हुने बीमकहरुको ठहर छ ।

त कम्पनीहरूले बैंकको निक्षेपमा मात्रै लगानी गर्दा कम्पनीहरू नाफा सुरक्षित नहुने बीमा विज्ञ डा.रबिन्द्र घिमिरे बताउँछन् । बैंकिङ्ग क्षेत्र धराशायी हुँदा बीमा कम्पनीको लगानीमा पनि कमी आउने उनको दाबी छ ।

यस्तै, वित्तीय संस्थाको बण्ड डिबेन्चरमा ७ दशमलव ८३ प्रतिशत लगानी गरेका छन् । यो क्षेत्रमा कम्पनीहरूले आफ्नो लगानीको बढीमा ३० प्रतिशत लगानी गर्न पाउने प्रावधान छ । विकास बैंकको मुद्दती निक्षेपमा भने कम्पनीहरूले ६.४३ प्रतिशत लगानी गरेका छन् । यस क्षेत्रमा कम्पनीहरूले आफ्नो लगानीको १० प्रतिशत लगानी गर्न पाउने प्रावधान छ ।

कम्पनीहरूले सबैभन्दा कम सूचीकृत नभएको पब्लिक कम्पनीको शेयरमा लगानी गरेका छन् । यस क्षेत्रमा कम्पनीको लगानी कुल लगानीको जम्मा ०.२१ प्रतिशत छ । इन्भेष्टमेन्ट कम्पनीको शेयरमा ०.३६ प्रतिशत लगानी गरेका छन् ।

कहाँ कति लगानी गर्दैछन् बीमा कम्पनीले ?

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको लगानी निर्देशिका नै जारी गरी लगानीका क्षेत्र र लगानी गर्नुपर्ने सीमा पनि तोकिदिएको छ । प्राधिकरणले घरजग्गा देखि नेपाल सरकारको ऋणपत्रमा अनिवार्य रुपमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

गत वर्ष जीवन बीमा कम्पनीले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र, ऋणपत्रमा दुई अर्ब ८० करोड रुपैयाँ लगानी गरेका छन् । प्राधिकरणले यस क्षेत्रमा कम्पनीहरूले आफनो कुल लगानीको कम्तीमा पनि २५ प्रतिशत लगानी गर्न सक्ने व्यवस्था गरिदिएको छ । ‘क’ वर्गको बैंकको मुद्दती निक्षेप पाँच खर्ब ३२ अर्ब ४९ करोड लगानी गरेका छन् भने पूर्वाधार बैंकको मुद्दती निक्षेपमा सात अर्ब १७ करोड रुपैयाँ लगानी गरेका छन् । यि क्षेत्रमा कम्पनीहरूले आफ्नो कुल लगानीको न्यूनतम् ३० प्रतिशतसम्म लगानी गर्नुपर्ने प्राधिकरणको प्रावधान छ ।

‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा कम्पनीहरूले ४८ अर्ब ७० करोड रुपैयाँ लगानी गरेका छन् । यस क्षेत्रमा कम्पनीहरूले आफ्नो कुल लगानीको बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । ‘ग’ वर्गको बैंक तथा वित्तीय मुद्दती निक्षेपमा कम्पनीहरूले सात अर्ब ६४ करोड रुपैयाँ लगानी गरेका छन् । यस क्षेत्रमा कम्पनीहरूले बढीमा ५ प्रतिशत लगानी गर्न पाउने प्राधिकरणको प्रावधान छ ।

घर जग्गामा भने कम्पनीहरूले ७५ करोड ८१ लाख रुपैयाँ लगानी गरेका छन् । यस क्षेत्रमा कम्पनीहरूले बढीमा १० प्रतिशत लगानी गर्न पाउने प्रावधान छ । सुचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ३० अर्ब ५२ करोड करोड रुपैयाँ लगानी गरेका छन्  । यस क्षेत्रमा कम्पनीहरूले बढीमा १० प्रतिशत लगानी गर्न पाउने प्रावधान छ ।

‘क’ ‘ख’ र ‘ग’ वर्गको बैंकको तथा वित्तीय संस्थाको अग्राधिकार शयर बण्ड, डिवेन्चर र ऋणपत्रमा ५९ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेका छन् । यस्तो क्षेत्रमा कम्पनीहरूले आफ्नो कुल लगानीको ३० प्रतिशत लगानी गर्न पाउने प्राधिकरणले व्यवस्था गरेको छ ।

सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा कम्पनीहरूले १९ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेका छन् । यस क्षेत्रमा कम्पनीहरूले आफ्नो कुल लगानीको बढीमा २० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ ।

कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायतका क्षेत्रमा ११ अर्ब ३७ करोड लगानी गरेका छन् । यस क्षेत्रमा कम्पनीहरूले आफ्नो लगानीको बढीमा १० प्रतिशत लगानी गर्न पाउँछन् । नागरिक लगानी कोष र म्युचअल फण्डमा चार अर्ब ४६ करोड रुपैयाँ लगानी गरेका छन् । यस क्षेत्रमा कम्पनीहरूले आफ्नो लगानीको बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाउँछन्  ।

इन्भेष्टमेन्ट कम्पनीमा दुई अर्ब ७३ करोड लगानी गरेका छन् । यस क्षेत्रमा कम्पनीहरूले आफनो लगानीको बढीमा ५ प्रतिशत लगानी गर्न पाउँछन् । अन्य संस्थापक शेयरमा १५ अर्ब ४५ करोड लगानी गरेका छन् । सुचीकृत नभएको अन्य पब्लिक कम्पनीको शेयरमा एक अर्ब ६५ करोड लगानी भएको छ भने अन्य लगानी १२ अर्ब ८४ करोड रुपैयाँ छ ।

null

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *