Banking Khabar
Heading1

प्रधानमन्त्री कार्कीको अस्पताल भ्रमण, घाइतेहरूको अवस्था बुझिन्

September 13, 2025
सेयर:

काठमाडौं । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्की जेन–जी युवाहरूको आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरूलाई भेट्न सिभिल अस्पताल पुगेकी छन्। शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टापछि नै उनले मीनभवनस्थित अस्पतालमा पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।

यसअघि उनले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको अवस्थाबारे समेत जानकारी लिएकी थिइन्। घाइतेहरूको उपचारप्रति सरकार संवेदनशील रहेको सन्देश दिन उनले अस्पतालका चिकित्सकहरूसँग उपचारको प्रगतिबारे छलफल गरेकी छन्।

प्रधानमन्त्री कार्कीले यसपछि जेन–जी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वर प्रहरी चौकी र महाराजगञ्ज प्रहरी वृत्तको निरीक्षण गर्ने कार्यक्रमसमेत तय गरेकी छन्। कोटेश्वरको घटनामा केही प्रहरीको मृत्यु भएको पुष्टि भएको छ।

जेन–जी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ भने सयौं घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कार्कीको यो सक्रियता नयाँ नेतृत्वले संवेदनशील मुद्दाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने संकेतका रूपमा हेरिएको छ।