“जलेका भवनहरू होइन, पुनःउठेको हाम्रो एकतालाई इतिहास सम्झिनेछ: निर्वाण चौधरी”
३० भाद्र २०८२, सोमबार ०५:२३
काठमाडौं, भदौ ३०, २०८२ – हालैको जेनजी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडपछि चौधरी समूह (CG) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले समूह पुनःनिर्माण र पुनःउत्थानको स्पष्ट प्रतिज्ञा गरेका छन्। वक्तव्यमा उनले आन्दोलनको मूल उद्देश्यलाई सकारात्मक बताउँदै तर “हुडदङ्गी र बाह्य शक्तिहरूले शान्तिपूर्ण आवाजलाई हिंसामा रूपान्तरण गरेको” आरोप लगाए।
आन्दोलनका क्रममा समूहका अध्यक्षमाथि व्यक्तिगत आक्रमण, पारिवारिक घरमा आगजनी, कारखाना तथा कार्यालयमा क्षति, र शो–रुम लुटिएको उल्लेख गर्दै चौधरीले यो घटना “केवल सम्पत्तिमाथिको प्रहार नभई, आशा र मूल्यहरूमा चोट” भएको बताएका छन्।
उनले सीजी समूहका कर्मचारी र व्यवस्थापकले आगलागी र तोडफोडबीच पनि ग्राहकलाई निराश हुन नदिएको र सम्पत्ति जोगाउन जोखिम मोलेर काम गरेकोप्रति आभार प्रकट गरे। चौधरीले भने, “तपाईंहरू नै कारण हुनुहुन्छ, जसले हाम्रो आशालाई जीवित राख्यो र सीजी परिवारको वास्तविक मूल्य देखायो।”
सीजीलाई नेपालकै ठूलो करदाता र प्रमुख रोजगारदाता भन्दै उनले विगतका प्राकृतिक विपत्ति र महामारीमा अग्रपंक्तिमा उभिएको इतिहास स्मरण गरे। उनले थपे, “हामी अझ बलियो भएर फर्किनेछौं, नयाँ प्रणाली, विचार र जनताप्रतिको अझ गहिरो प्रतिबद्धतासहित।”
चौधरीले निष्कर्षमा भने, “हामीलाई जलेर होइन, पुनःउठेर इतिहासले सम्झिनेछ—यो क्षति हाम्रो भविष्यलाई अझ उज्यालो बनाउने प्रेरणा हुनेछ।”