“अर्थमन्त्रीमा रामेश्वर खनालको नियुक्तिपछि पुँजी बजार उत्साहित”

३१ भाद्र २०८२, मंगलवार ०३:५१

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वअर्थसचिव तथा अर्थविज्ञ रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गरेसँगै पुँजी बजार उत्साहपूर्ण बनेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसपश्चात् बनेको अन्तरिम सरकारमा आर्थिक नीति तय गर्ने जिम्मेवारी खनालको हातमा पुगेपछि लगानीकर्तामा उच्च आशा देखिएको छ।

खनाललाई मुलुकको अर्थतन्त्रको गहिरो ज्ञान भएको र पुँजी बजारका नीतिगत पक्षमा सशक्त अनुभव भएको कारण लगानीकर्ताले सकारात्मक संकेतका रूपमा हेरेका छन्। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने, “उहाँले उच्चस्तरीय आर्थिक सुधार आयोगमा काम गर्दा पहिचान गरिएका समस्याको समाधानका लागि तयार पारेको प्रतिवेदन कार्यान्वयन भए मात्र पनि अर्थतन्त्रलाई सहज बनाउन सकिन्छ।”

यसैगरी, स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले खनालको पुँजी बजार र नीतिगत समझलाई लगानीकर्ताका लागि आशावादी कदम भनेका छन्। उनले भने, “खनालले अर्थतन्त्र र पुँजी बजार दुवैको राम्रो बोध गरेका छन्। यसैले अब नीतिगत अनिश्चितता हट्ने र बजार स्थिर हुने अपेक्षा गर्न सकिन्छ।”

लगानीकर्ता र विश्लेषकहरूले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई आधार बनाएर दीर्घकालीन नीतिहरू लागू गरिए अर्थतन्त्र र पुँजी बजार दुबै लयमा फर्कने विश्वास व्यक्त गरेका छन्। प्रतिवेदनमा पुँजी बजार विस्तार, गैरआवासीय नेपालीलाई कारोबार अनुमति, सरकारी ऋणपत्रको दोस्रो बजार सञ्चालन, जलविद्युत् कम्पनीहरूको प्राथमिक निष्काशन नियम, र वस्तु विनिमय बजारको शीघ्र कार्यान्वयन जस्ता बुँदा समावेश छन्।

हाल बैंकको ब्याजदर घटेको, तरलता पर्याप्त भएको र बीमा कम्पनीको धितो कर्जा प्रवाह बढेको अवस्थामा लगानीको वातावरणलाई सुदृढ बनाउने अवसर खनालको नेतृत्वमा रहेको अर्थ मन्त्रालयले पाउने अनुमान लगानीकर्ताले गरेका छन्। साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीले भने, “सबै सूचक सकारात्मक हुँदा पनि बजारले त्यो प्रतिबिम्ब नदिइरहेको छ। अब अर्थमन्त्रीले पुँजी बजारमा देखिएको अस्थिरतालाई दीर्घकालीन नीतिबाट सम्बोधन गर्नु आवश्यक छ।”

विश्लेषकहरूको भनाइअनुसार, खनालले प्रतिवेदनका सिफारिसलाई गाइडलाइन बनाएर अघि बढेमा बजारमा विश्वास पुनर्स्थापित हुनेछ र पुँजी बजारलाई दीर्घकालीन रूपमा परिपक्व बनाउने वातावरण तयार हुनेछ। पुँजी बजार र अर्थतन्त्रबारे राम्रो बुझाइ भएका अर्थमन्त्रीको आगमनलाई लगानीकर्ताले स्थिरता र सुधारको संकेतका रूपमा लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *