सिंहदरबार क्षेत्रका सरकारी गाडीमा आगजनी: ४४१ चारपाङ्ग्रे र ६०१ दुईपाङ्ग्रे सवारी ध्वस्त

गत भदौ २४ गतेको प्रदर्शनका क्रममा सिंहदरबार र आसपासका सरकारी कार्यालयमा व्यापक क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। सरकारी निकाय र गोरखापत्रले गरेको अवलोकनअनुसार ४४१ वटा साना–ठूला चारपाङ्ग्रे सवारी साधन र ६०१ वटा मोटरसाइकल तथा स्कुटरमा आगजनी र तोडफोड भएको पाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मात्रबाट ४७ चारपाङ्ग्रे र ७४ दुईपाङ्ग्रे सवारी ध्वस्त भएका छन्। अर्थ मन्त्रालयका ३६ चार चक्के र ५४ दुई चक्के, गृहमन्त्रालयका २५ चार चक्के र ३० दुई चक्के, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ चारपाङ्ग्रे र ३९ मोटरसाइकल/स्कुटर क्षतिग्रस्त छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ३२ साना गाडी, २ ठूला बस, र ३९ मोटरसाइकल, शिक्षा मन्त्रालयका २६ चार चक्के र ४७ मोटरसाइकल, युवा तथा खेलकुद मन्त्रालयका १९ चार चक्के र २३ दुई चक्केमा आगजनी भएको छ।
संघीय संसद् अन्तर्गत १८ चार चक्के र ३६ मोटरसाइकल, वन मन्त्रालयका १७ सवारी र १० मोटरसाइकल, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका ९ मोटरसाइकल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ चारपाङ्ग्रे र ३९ मोटरसाइकल क्षतिग्रस्त छन्। सर्वोच्च अदालतका ५१ सवारी साधनको यकिन विवरण अझै प्राप्त भएको छैन।
स्वास्थ्य मन्त्रालयका २२ चारपाङ्ग्रे र १४ दुईपाङ्ग्रे, सहरी विकास तथा भवन निर्माण विभागका ५० चारपाङ्ग्रे र २०० भन्दा बढी मोटरसाइकल, सडक विभागका ६५ सवारी साधनमा आगजनी भएको छ। महान्यायाधिवक्ता कार्यालयका २ साना गाडी र १ बस समेत जलेर नष्ट भएका छन्।
यो क्षति पछिल्लो वर्षहरूमा देखिएको सबैभन्दा ठूलो हो, जसले राज्यको सार्वजनिक सम्पत्तिमा गम्भीर असर पारेको छ।