सेयर बजारमा फेरि दोस्रो नकारात्मक सर्किट, कारोबार ४० मिनेटका लागि रोकियो
२ आश्विन २०८२, बिहीबार ०५:५१
काठमाडौं, ३ असोज — बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर बजार फेरि दोस्रो पटक नकारात्मक सर्किट लागेपछि कारोबार ४० मिनेटका लागि रोकिएको छ।
बजार खुलेको दोस्रो मिनेटमै नेप्से सूचक १०७.०४ अंक (४%) ले घट्दा पहिलो सर्किट लागेको थियो। त्यसपछि २० मिनेट रोकिएर खुलेको बजार फेरि केही मिनेटभित्रै १३३.६३ अंक (५%) ले घट्दा दोस्रो सर्किट लाग्यो।
नेप्सेका अनुसार कारोबार खुलेको पहिलो एक घण्टाभित्र बजार परिसूचक ४% ले घटेमा वा बढेमा पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार रोकिन्छ। दोस्रो घण्टाभित्र ५% ले घटेमा वा बढेमा फेरि ४० मिनेटका लागि कारोबार रोकिन्छ। त्यस्तै, ६% भन्दा बढी उतारचढाव भए सो दिनका लागि बजार बन्द गरिने प्रावधान छ।
विश्लेषकहरूले पछिल्ला आर्थिक अस्थिरता र लगानीकर्ताको मनोबलमा आएको नकारात्मक प्रभावले बजारमा चाप बढाएको बताइरहेका छन्। नेप्से सूचक क्रमशः घट्दै जाँदा लगानीकर्ताहरू सतर्क मुद्रामा देखिएका छन्।