३८ घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास जारी
५ असोज, चितवन ।
मुग्लिन–नारायणगढ सडकखण्ड झण्डै ३८ घण्टादेखि अवरुद्ध छ। मुग्लिनबाट करिब २.५ किलोमिटर नारायणगढतर्फ तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झर्दै आएको कारण सडक खुलाउन समस्या भएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर कृष्ण आचार्यका अनुसार आज बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु भए पनि माथिल्लो भागमा पत्रे चट्टानका कारण जोखिम बढेको छ। अहिले सडकमा करिब ३५ मिटर पहिरोको डिपोजिट रहेको र सुख्खा पहिरो झर्ने क्रम रोकिए दिउँसो ३ बजेसम्म सडक खुलाउन सकिने अनुमान छ।
हाल मुग्लिन र नारायणगढ दुवैतर्फबाट २–२ वटा मेसिनमार्फत पहिरो हटाउने काम भइरहेको छ। स्थान अभावका कारण थप मेसिन ल्याउन नसकिएको डिभिजन कार्यालयले जनाएको छ।
असोज ३ गते साँझ ६ बजेदेखि गएको ठूलो पहिरोपछि सयौं सवारी साधन बाटोमै रोकिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट जाने सवारी टाँडी, भण्डारा, आँपटारी, जुगेडी, रामनगर क्षेत्रमा रोकिएका छन् भने काठमाडौंबाट आउने सवारी कुरिनटार, मुग्लिन र फिस्लिङमा अड्किएका छन्।
यात्रुहरूको सहयोगका लागि स्थानीय समाजसेवी र संघसंस्थाले सक्रिय भूमिका खेलेका छन्। मुग्लिन बजारमा जेसीज इच्छाकामनाको अगुवाइमा निःशुल्क पानी, खाना र खाजा वितरण भइरहेको छ। नारायणगढतर्फ पनि विभिन्न सामाजिक समूह र व्यक्तिहरूले चाउचाउ, विस्कुट, पानी बाँड्दै आएका छन्। यस्तै, यातायात मजदुरलाई यातायात व्यवसायीहरूले नि:शुल्क खाना र खाजाको व्यवस्था मिलाएका छन्।