“जेनजी आन्दोलनपीडित उद्योग–व्यवसायलाई कर छुट र सहुलियत कर्जा दिने सरकारको घोषणा”

९ आश्विन २०८२, बिहीबार ०५:१२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका उद्योग र व्यावसायिक प्रतिष्ठानलाई सरकारले कर तथा कर्जामा सहुलियत दिने भएको छ

अर्थ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा तोडफोड, लुटपाट तथा आगजनीबाट प्रभावित व्यवसाय पुनःस्थापना र सञ्चालनका लागि आवश्यक सामान आयात गर्दा लाग्ने भन्सार महशुल र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।

त्यसैगरी आन्दोलनमा क्षति पुगेका तारे होटलहरूले बीमा सर्भेयरको प्रतिवेदनबाट यकिन भएका सामान आयात गर्दा ५ प्रतिशत मात्र भन्सार महशुल तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

विक्री हुन बाँकी रहँदा आन्दोलनका क्रममा नोक्सान भएका सामानमा मूल्य अभिवृद्धि कर (भ्याट) शून्य गर्ने पनि सरकारको निर्णय छ ।

बीमा भएका व्यवसायका हकमा अधिकतम ५० प्रतिशत बीमा रकम अग्रिम भुक्तानी गर्न बीमा कम्पनीलाई निर्देशन दिइएको छ भने बीमा नभएका व्यवसायलाई तत्काल क्षति सर्वेक्षण गरी राहत दिलाउने भनिएको छ ।

त्यस्तै प्रत्यक्ष प्रभावित उद्योगी तथा व्यवसायीलाई साँवा र ब्याज भुक्तानी गर्ने अवधि थप गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइएको छ । पुनः सञ्चालनमा ल्याउनका लागि आधार दरमा शून्य दशमलव ५ प्रतिशत मात्र प्रिमियम थप गरी सहुलियत दरमा कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनासँगै निजी क्षेत्रका भवन, उद्योग र व्यवसायिक प्रतिष्ठानमा तोडफोड र आगजनी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *