प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न
२७ माघ २०८२, सोमबार ०७:२८
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
आइतवारसम्म १ करोड ९ लाख ६३ हजार मतपत्र छपाइ भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । उनका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी र कैलालीसहित कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत र बर्दघाट सुस्ता पश्चिमको मतपत्र छपाइ तथा प्याकिङ कार्यसमेत सम्पन्न भइसकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरिएको थियो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।
यसैगरी, गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गतेसम्म २ करोड ८ लाख ३० हजार मतपत्र छापेर प्याकिङ, रुजु तथा ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाइनेछ भने बाँकी ३७ प्रकारका सामग्री जिल्लामै व्यवस्थापन गरिनेछ । केन्द्रबाट पठाइने सामग्रीमा सुरक्षण सिल, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, स्वस्तिक छाप तथा मतपेटिका स्टिकरलगायत सामग्री समावेश छन् ।
त्यसैगरी जिल्लामा व्यवस्थापन गरिने सामग्रीमा सिलिङ बक्स, अनुसूची फारम, पोल बुक, विभिन्न स्टेशनरी सामग्री, मतदाता तथा मतदान केन्द्रसम्बन्धी कार्ड, प्याकिङ सामग्री, कागजका खाम, कपडा, मैनबत्ती, जेल पेनलगायत सामग्री रहेको आयोगले जनाएको छ ।
