चीनबाट रासायनिक मल आउन सुरु

राष्ट्रिय BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ।

तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए।

हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको थियो। तर चिनियाँ पक्षले समन्वयकारी भूमिका निर्वाह नगरेको हुँदा लामो समयसम्म सो मल खासा क्षेत्रमै रेकिएर रहेको सिल्क ट्रान्सपोर्ट प्रालिले आरोप लगाएको छ।

किसानहरुले धानबाली भित्र्याई सकेपछि आलु तथा गहुँबाली सुरु गर्ने गर्दछन्। त्यसका लागि मलको अभाव हुन नदिने उद्देश्य राखी कृषि सामग्री कम्पनीले चीनबाट मल झिकाउन समयमै ठेक्का प्रक्रिया पुर्‍याएको थियो।

यद्यपि चिनियाँ पक्षले समयमै नेपाल पठाउन चासो नदिएपछि मल आउन ढिलाइ भएको हो। नेपाल सरकारले यसअघि पनि साल्ट ट्रेडिङ कम्पनीमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल मगाएको थियो।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp