सुदूरपश्चिमका पहाडी जिल्लामा उडान गर्दै नेपाल एयरलाइन्स

समचार BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले धनगढीबाट बझाङ परीक्षण उडान गर्ने भएको छ।

धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आइतबार परीक्षण उडान हुने भएको हो। लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाइ यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ।

धनगढीबाट पहाडी जिल्लामा नेपाल एयरलाइन्सले उडानका लागि तालिका सार्वजनिक गरिसकेको धनगढी विमानस्थलले जनाएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा उडान हुने बताए। धनगढीदेखि डोटी दुई हजार ६१५ रुपैयाँ र डोटीबाट धनगढी दुई हजार ५१५ रुपैयाँ भाडादर कायम भएको छ।

धनगढीदेखि बझाङको तीन हजार ९९५ रुपैयाँ र बझाङदेखि धनगढी तीन हजार ८९५ रुपैयाँ हवाइ भाडादर कायम भएको छ। जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आइतबार बिहान नेपाल वायुसेवा निगमले धनगढी बझाङ उडान गर्नेछ। हवाइ भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङवासीको माग छ। एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन् समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ।

असोज ३१ गते आइतबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दशैं मनाउन घर आएका काठमाडौं, पोखरा, धनगढी, नेपालगञ्जलगायत बाहिर जिल्लामा पढ्ने विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सकेका छैनन्। धनगढीबाट आउने मालबाहक गाडी, बस र कतिपय यात्रुसमेत बीच बाटोमै अलपत्र परेका नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंहले बताए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp