जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम माैका

२५ माघ २०७८, मंगलवार ०४:३८

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (माघ २५ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।

हिजाे साेमबार दिउँसाे ४:५० बजेसम्ममा २२ लाख २६ हजार ९६९ जना आवेदकहरूले २ करोड ७४ लाख १२ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदनकाे संख्या सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ५६.१८ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, मेराे सेयरबाट पनि आईपीओ भर्न सकिन्छ ।

संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *