Banking Khabar
Heading3

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा नेपाललाई ४६ अर्ब ७० करोड निर्ब्याजी ऋण

February 16, 2022
सेयर:

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ४६ अर्ब ७० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ। मुद्रा कोषले इनह्यान्स क्रेडीट फ्यासिलिटी (इसिएफ) मार्फत ४६ अर्ब ७० करोड रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण शुन्य ब्याजदरमै दिएको हो।

उक्त ऋण सहायता मध्ये करिब १३ अर्ब रुपैयाँ (११० मिलियन अमेरिकी डलर) बराबरको रकम पहिलो किस्ता वापत प्राप्त हुनेछ । अर्थ मन्त्रालयका अनुसार उक्त रकम एक हप्ताभित्रै नेपालले पाउने छ।

बाँकी रकम बिभिन्न किस्तामा क्रमशः प्राप्त हुने गरि स्विकृत भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कोभिड १९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकारात्मक प्रभाव कम गर्न, विपन्न वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दीगो विकास तथा गरिबी निवारण सम्बन्धी नेपालले लिएको सुधारका काम र प्रयासलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास लिइएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने उक्त सहायता नेपालले आवश्यकता र प्राथमिकताका आधारमा बजेटमा समावेश गरि खर्च गर्ने भएको छ। कोषसँग भएको प्रारम्भिक छलफलमा चालु आर्थिक वर्षको बजेटमा उक्त रकमलाई बजेटको स्रोत कायम गरिने मन्त्रालयले जनाएको छ।