वासिङ्टन डीसी — International Monetary Fund (आईएमएफ) को सम्मेलनले विश्व अर्थतन्त्र युद्धका कारण गम्भीर रूपमा प्रभावित भएको निष्कर्ष निकालेको छ। अमेरिकाको Washington DC मा सम्पन्न सम्मेलनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको वित्तीय क्षेत्रमाथि युद्धले ठूलो दबाब सिर्जना गरेको उल्लेख गरिएको छ।
प्रतिवेदनमा सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०२४/२५ को ३.४ प्रतिशत लक्ष्यभन्दा कम हो। साथै, जनवरीमा गरिएको पूर्वानुमानभन्दा ०.२ प्रतिशत बिन्दुले वृद्धि दर घटाइएको जनाइएको छ भने सन् २०२७ को अनुमान यथावत् राखिएको छ।
आईएमएफका अनुसार विश्व अर्थतन्त्रमा आएको यस सुस्तताका प्रमुख कारणहरूमा United States, Israel र Iran बीचको द्वन्द्वलाई लिइएको छ। पश्चिम एसिया र मध्य पूर्वमा जारी तनावले विश्व अर्थतन्त्रमा अस्थिरता बढाएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, विश्वव्यापी मुद्रास्फीति सन् २०२६ मा ४.४ प्रतिशत र २०२७ मा ३.७ प्रतिशत रहने अनुमान गरिएको छ। युद्धका कारण वस्तु बजार, मूल्यवृद्धि र वित्तीय अवस्थामाथि थप दबाब परेको आईएमएफले जनाएको छ।
आईएमएफले सार्वजनिक गरेको ‘ग्लोबल फाइनान्सियल स्टेबिलिटी रिपोर्ट २०२६’ अनुसार युद्धको प्रभाव विशेषगरी एसिया क्षेत्रका उदयमान तथा विकासशील अर्थतन्त्रमा समेत पर्ने जोखिम रहेको छ। यसले दीर्घकालीन रूपमा आर्थिक स्थायित्वमा चुनौती थप्न सक्ने संकेत गरिएको छ।