भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा नघट्ने
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ। निगमले साउन १८ गते बुधबार एक विज्ञप्ति जारी गर्दै अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य नघटाउने जनाएको हो।
निगमका अनुसार १ जुलाईमा प्राप्त मूल्य अनुसार एलपी ग्यासमा प्रति सिलिण्डर ५८२.४२ घाटा तथा १६ जुलाईमा प्राप्त मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा १४.१९ घाटा, डिजेलमा २११.९२ रुपैयाँ घाटा भइरहेको छ।
पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट श्रावण १६ प्राप्त नयाँ मूल्यसूची बमोजिम निगमलाई प्रतिलिटर पेट्रोलमा २.७८ नाफा, डिजेलमा ९.३७ घाटा, मट्टितेल तथा हवाई इन्धनमा केही नाफा तथा एलपी ग्यासमा प्रतिसिलिण्डरमा ४९९.५७ रुपैयाँ घाटा भएको निगमले जनाएको छ।
पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै गएपछि नेपाल सरकारले मन्त्रिपरिषदको मिति २०७९।०३।३१ को निर्णय अनुसार निगमलाई नेपाल सरकारबाट रु.७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट रु.३ अर्ब ऋण उपलब्ध गराएको थियो, जसमा पेट्रोलियम पदार्थ बिक्रीबाट संकलन भएको रकम समेत समावेश गरी ईण्डियन आयल कर्पाेरेशन लिमिटेडको बक्यौता रकम भुक्तानी गर्दा समेत करिब रु.२३ अर्ब अझै तिर्नुपर्ने अवस्था रहेको छ । तसर्थ, ईण्डियन आयल कर्पाेरेशन लिमिटेडको बक्यौता रकम क्रमश : भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने निगमको दायित्व रहेको विज्ञप्तिमा जनाएको छ ।