काठमाडौं । पुर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बन्ने बताएका छन् । गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा भट्टराईले यस्तो बताएका हुन् ।
चुनाव पछि गठबन्धन सरकार बन्ने र सरकारकाे नेतृत्व प्रचण्डले गर्ने उनकाे भनाइ छ ।’प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँ सुयोग्य व्यक्ति हो,’ उनले भने, ‘अबको सरकार पाँच वर्ष गठबन्धनले चलाउँछ । अबको प्रधानमन्त्री प्रचण्ड हो ।’
गाेरखाबाट प्रचण्डले चुनाव सहजै जित्ने भट्टराईको भनाइ छ । ०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा यहाँका जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको बताउँदै प्रचण्डको जित पनि भारी मतसहित हुने बताए ।
भट्टराईले प्रदेशसभामा उठेका कांग्रेसका सुरेन्द्रराज पाण्डे पनि सहज जित हुने बताए । उनले अबको गण्डकीकाे मुख्यमन्त्रीमा पाण्डेको सम्भावना रहेको पनि बताएका छन् ।