अर्थमन्त्री-गभर्नर टेलिफोन वार्तापछि सेयर बजारमा उछाल, १६२ अंकले बढ्यो नेप्से

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं- आइतबार उच्च अंकले घटेको पुँजीबजार मापक परिसूचक नेप्सेमा आज  उछाल आएको छ।

सोमबार(आज) अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरेर पुँजीबजारमा देखिएको समस्या समाधान गर्न आग्रह गरेपछि सेयर बजारमा उछाल देखिएको हो।

नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आज नेप्से १६१.९४ अंकले बढेर २९८०.९४ विन्दुमा उक्लिएको छ। आइतबार नेप्से १०८.२६ अंकले घटेको थियो।

आज परिसूचक बढे पनि कारोबार भने पौने १० अर्बमा सीमित भएको छ। नेप्सेका अनुसार कूल नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२४ वटा कम्पनीका एक करोड ७९ लाख २२ हजार ५८८ कित्ता सेयर एक लाख नौ हजार १८२ पटक खरिद-बिक्री भएका थिए।

ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३१.४१ अंकले बढेर ५५३.४० विन्दुमा उक्लिएको छ।

आज ४५ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लाग्दा सबै उपसमूहमा हरियाली छाएको छ। यस्तै बजार पुँजीकरण ४१ खर्ब ७१ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp