छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै, वस्तुको मूल्य उच्च हुँदा उपभोक्ता मारमा

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित प्रसिद्ध बरूण सरोवर छठ पूजाका लागि सजाइँदै ।
राजविराज (सप्तरी) । छठमा प्रयोग गरिने वस्तुको मूल्य उच्च हुँदा उपभोक्ता मारमा परेका छन् । छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसको बत्तीबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाँडाकुँडाको सामानको मूल्य दोब्बर भन्दा बढीले आकाशिएको छ । मूल्यवृद्धिमा कुनै निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ ।

यस्तै राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार र नहर छठ पर्वका लागि आजदेखि सजाउन थालिएको छ । विजयादशमी र दीपावली सकिएलगत्तै छठपर्व शुरू भएपछि जलाशय, पोखरी किनारमा पूजाघाट बनाउन बिहानदेखि स्थानीय सरसफाइमा जुटेका छन् ।

सदरमुकाम राजविराजमा रहेको कल्टु पोखरी, तुरुन्ती र भगवती पोखरीसहितका पोखरीमा वर्षौँदेखि थुप्रिएका फोहोर सफाइ गरी छठ मनाउन घाट निर्माण गरिरहेको राजविराज नगरपालिका–३ निवासी लालु रजकले बताए । यहाँ सफाइ गरिएका पोखरीमा कागज, केराको थाम र अशोकको पत्ता तथा विद्युतीय बत्तीबाट सजाउने काम भइरहेको उनले जानकारी दिए । ग्रामीण क्षेत्रका जलाशयहरुमा समेत पूजाघाट बनाइ सजाउने काम भइरहेको छ ।

हनुमानगर बजारमा युवाहरु आज बिहानदेखि पोखरी सफाइमा लागेको स्थानीय राजेन्द्र मिश्रले बताए । भारदहस्थित कोशी ब्यारेजमा सफाइ तथा घाट सजाउने काम भइरहेको छ । यहाँ भारतको सुपौल जिल्लाको वीरपुर, भीमनगरलगायत विभिन्न सहरका सर्वसाधारण छठपर्व मनाउन प्रत्येक वर्ष आउने गरेका छन् । छठ शुरू भएपछि बजार तथा ग्रामीण क्षेत्रमा रेडियो र साउन्ड सिस्टमबाट छठी मैयाको महिमाका भोजपुरी र मैथिली गीत गुञ्जिन थालेका छन् ।

बरूण सरोवर सजाइँदै  

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित प्रसिद्ध बरूण सरोवर छठ पूजाका लागि सजाइँदै । 

छठ घाट बनाइँदै 

जनकपुरधामस्थित मुजेलियामा पोखरीको डिलमा छठ पूजाका लागि सोमबार घाटको तयारी गर्दै युवा । मिथिलाञ्चल क्षेत्रमा भोलिदेखि छठ पूजाको विधि शुरू हुँदैछ। 

बिक्रीमा राखिएको केरा

 मधेस प्रदेशको राजधानी जनकपुरधाम फलफूल मन्डीमा छठ पर्वको लागि बिक्रीमा राखिएको केरा धारी। छठ पर्वमा सिङ्गो घरी केरा चढाउने परम्परा रहेकाले केराको अहिले अत्यधिक माग रहेको छ। 

 छठका लागि केरा किनमेल 

 धनुषाको ढल्केवर बजारमा छठ पर्वको लागि केरा किनमेल गरिँदै । छठ पर्वमा सिङ्गो घरी केरा चढाउने परम्परा रहेकोले केराको अहिले अत्यधिक माग रहेको छ। एक घरी केरा ५ सय देखि एक हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ। 

बाँसका सामग्री किनमेल

 छठ पर्वका लागि वीरगञ्जको घण्टाघरमा ढकिया,नाङ्लो, डालो,लगायत बाँसबाट बनेका सामग्री किनमेल गर्दै सर्वसाधारण । छठ पर्वको दिन पूजाको सामग्री राखेर छ्ठघाटमा लैजान बाँसका सामग्री प्रयोग गरिन्छ ।

निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवं मानव जातिको उत्थान गर्न र आरोग्यताका लागि यो पर्व मनाइने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य रहेको पाइन्छ । तस्वीर समेत- रासस

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp