तारागाउँ रिजेन्सी होटल्सले ५ प्रतिशत नगद लाभांश प्रस्ताव, होटल वर्षौंदेखि सबैभन्दा कम लाभांश वितरण गर्न तयारी

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले होटलमा ठूलो क्षति पुगेपछि पनि हाल कायम चुक्तापूँजीको आधारमा लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित लाभांश आगामी पुस २३ गते हुँने वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।

कम्पनीले आर्थिक वर्ष ०७३/७४ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ। आर्थिक वर्ष ०७७/७८ मा मात्र लाभांश नदिएको भए पनि अन्य वर्षहरूमा निरन्तरता दिएको थियो। गत वर्ष ११ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्ष भने हालसम्मकै कम ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यस वर्ष कम लाभांश हुनुमा जेनजी आन्दोलनका क्रममा होटलका अतिथि कक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, बैंक्वेट र अन्य संरचनामा पुगेको ठूलो क्षति प्रमुख कारण बनेको छ। क्षति भएकै कारण होटल अहिले पूर्ण रूपमा बन्द गरि मर्मत–सम्भारको काम भइरहेको छ र होटल पुनः सञ्चालनमा आउन करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ रहेको छ। जगेडा कोषमा १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रकम छ। होटल बन्द रहेकाले चालू आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनी २ करोड ३७ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा पुगेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ४ करोड ५६ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp