Banking Khabar
Heading1

कोलम्बिया भूकम्प : मृतकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता

August 11, 2026
सेयर:

२६ साउन, काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० भन्दा बढी घाइते भएका छन् । सयौं मानिस अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।

सोमबार पश्चिमी कोलम्बियामा गएको भूकम्पका कारण काली, पेरेइरा, क्विब्दो र मानिजालेसलगायत शहरमा ठूलो क्षति पुगेको छ । भूकम्पको केन्द्रबिन्दु चोको क्षेत्रको सान होसे डेल पालमारनजिक रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्प करिब १०७ किलोमिटर गहिराइमा गएको थियो ।

कोलम्बियाको भूगर्भ सेवा अनुसार यो २१औं शताब्दीमा देशमा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्प हो । भूकम्पपछि लगातार परकम्पसमेत गएका छन् । भूकम्पका धक्का छिमेकी मुलुकहरू इक्वेडर र पानामासम्म महसुस गरिएको थियो ।

भूकम्पका कारण धेरै भवन भत्किएका छन् । कालीमा कम्तीमा २० वटा भवन पूर्णरूपमा भत्किएको र सयौं संरचनामा क्षति पुगेको विवरण सार्वजनिक भएको छ । पेरेइरामा पनि भवनहरू भत्किँदा मानिसहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ । उद्धार टोलीले भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारलाई तीव्र बनाएको छ ।

चोको क्षेत्रमा सञ्चार सेवा प्रभावित भएकाले क्षतिको पूर्ण विवरण आउन सकेको छैन । दुर्गम क्षेत्रमा ठूलो संख्यामा मानिस बेपत्ता भएको आशंका गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अस्पताल, विद्यालय तथा अन्य सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ ।

राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएल्लाले राष्ट्रिय आपत्काल घोषणा गर्दै सरकारका सबै संयन्त्र उद्धार, राहत र प्रभावितको सुरक्षामा परिचालन गरिएको बताएका छन् । केही दिनअघि मात्रै राष्ट्रपतिको जिम्मेवारी सम्हालेका उनका लागि यो पहिलो ठूलो राष्ट्रिय संकट बनेको छ । भग्नावशेषमा फसेकाहरूको उद्धार सरकारको पहिलो प्राथमिकता रहेको उनले बताएका छन् ।

भूकम्पपछि काली, पेरेइरा र आसपासका केही क्षेत्रमा रातिको कर्फ्युसमेत लगाइएको छ । लुटपाट रोक्न तथा उद्धार र राहत कार्यलाई सहज बनाउन यस्तो कदम चालिएको अधिकारीहरूले बताएका छन् । केही विमानस्थलमा पनि संरचनाको प्राविधिक निरीक्षणका लागि उडान सेवा प्रभावित भएको छ ।

यसैबीच, अमेरिकाले कोलम्बियालाई आपत्कालीन राहतका लागि १ करोड ५५ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । एल साल्भाडोर, मेक्सिको, चिली, इजरायल, इक्वेडर र फ्रान्सलगायत देशले पनि उद्धार तथा राहत कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उद्धार कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।