Banking Khabar
Heading1

स्थानीय तहको चुनावमा रास्वपाका पुराना कार्यकर्तालाई टिकटको सम्भावना बढी : रवि

August 18, 2026
सेयर:

२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थानीय तह निर्वाचनमा पार्टी स्थापनादेखि निरन्तर सक्रिय रहेका कार्यकर्तालाई उम्मेदवार बन्न प्राथमिकता मिल्ने बताएका छन्।

रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याउँदै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य पदका आकांक्षीका लागि आवेदन खुला गरेपछि लामिछानेले यस्तो बताएका हुन्।

क्यान्डिडेट क्लबमा आवेदन सुरु गर्ने क्रममा लामिछानेले पार्टी गठनदेखि निरन्तर खटिरहेका कार्यकर्ताको उम्मेदवार बन्ने सम्भावना बढी हुने स्पष्ट पारे। पार्टीका लागि सुरुदेखि काम गरेका, घन्टी बोकेर हिँड्दा मुद्दा खेपेका, पिटाइ र गाली सहेर संगठन निर्माणमा योगदान दिएका कार्यकर्तालाई पार्टीले नबिर्सिएको उनको भनाइ थियो।

‘रास्वपामा जो काम गरिरहनुभएको छ, जो पार्टीमा खटिरहनुभएको छ, सुरुवातदेखि आजसम्म खटिरहनुभएको छ, उहाँहरूको सम्भावना बढी छ,’ लामिछानेले भने, ‘प्रतिस्पर्धामा अरूलाई भन्दा उहाँहरूलाई सजिलो अवश्य पनि छ।’

पार्टीमा काम गरिरहेका कार्यकर्ताले नयाँ व्यक्ति आएर टिकट पाउँछ भन्ने चिन्तामा निराश हुनुपर्ने अवस्था नरहेको पनि उनले बताए। यद्यपि, नयाँ अनुहारबाट अझ सक्षम र अब्बल व्यक्ति उम्मेदवार बन्ने अवस्था आएमा पार्टीमा कार्यरत व्यक्तिले बाटो खाली गर्नुपर्ने उनको भनाइ छ।

लामिछानेले योग्य नयाँ व्यक्तिका लागि रास्वपाले ‘ल्याट्रल इन्ट्री’ खुला राख्ने बताए। उनका अनुसार सक्षम व्यक्तिहरू पार्टीमा प्रवेश गरेर उम्मेदवार बन्न सक्ने व्यवस्था गरिनेछ।

‘अब्बल आउला कि भनेर पार्टीमा आउनका लागि कैयौँ साथीहरूलाई रोकिएको पनि सत्य हो। क्यान्डिडेट क्लबले त्यो कार्यलाई रोकिदिन्छ,’ उनले भने।

रास्वपाले उम्मेदवार छनोटमा योग्यता र क्षमतामा आधारित प्रणाली स्थापित गर्ने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा अघि सारेको जनाएको छ। क्लबमा आबद्ध आकांक्षीको राजनीतिक योग्यता र क्षमतासँगै कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थासमेत मूल्यांकन गरिनेछ।

पहिलो चरणमा गाउँपालिकाबाट उम्मेदवार छनोट प्रक्रिया सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यका लागि इच्छुकले रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

रास्वपाले गाउँपालिकाका ४६० अध्यक्ष र ४६० उपाध्यक्ष पदका लागि उम्मेदवार छनोट गर्नेछ। त्यस्तै, ३ हजार ६८५ वडाध्यक्ष र १४ हजार ७४० वडा सदस्य पदका लागि समेत आकांक्षीबाट आवेदन मागिएको छ।

लामिछानेले क्यान्डिडेट क्लबलाई रास्वपाको मात्र उम्मेदवार छनोट गर्ने संयन्त्र नभई समग्र नेपाली राजनीतिमा योग्य नेतृत्व विकास गर्ने माध्यमका रूपमा अघि बढाउने उद्देश्य रहेको बताएका छन्।