काठमाडौंमा ठूलो वर्षा : ३८२ घर डुबे, १३८ को उद्धार, बल्खुमा गाडीहरु नै बगायो
काठमाडौं- गए रातिदेखि परेको ठूलो वर्षाका कारण काठमाडौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । बाढीका कारण ३८२ घर डुबानमा परेका छन् । १३८ जनालाई प्रहरीले उद्धार गरेको छ । वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन ।
रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वागमती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६ वटा साना गाडी बगाएको प्रहरीले जनाएको छ । बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।
अहिले त्यहाँ सामान हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । यस्तै, काठमाडौंको टेकुमा रहेको परोपकार क्षेत्रको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ । प्रहरीका अनुुसार डुबानमा फसेका एक व्यक्तिको उद्धार गरिएको छ । त्यसैगरी, रामकोट, बाफल सीतापाइला, मुलपानी लगायत क्षेत्रमा पनि डुबानले बस्ती जोखिममा परेको छ ।
सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् । सडक खोलो र पोखरीजस्तो भएपछि पैदल हिँड्न र गाडी गुडाउन पनि समस्या भएको छ । काठमाडौंसँग जोडिएको काभ्रेको बनेपा बजार पनि जलमग्न भएको छ । वर्षाका कारण त्यस क्षेत्रमा पर्ने अरनिको राजमार्ग जलमग्न भए पनि बनेपाको पुलबजारबाट गाडी डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार शुरू, चुक्तापूँजी ४ अर्ब १८ करोड पुग्यो
१९ मंसिर २०८२, बिहीबार
पाँच किलो चाँदीसहित दुई भारतीय पक्राउ
१९ मंसिर २०८२, बिहीबार
सरकारी सेवाको भुक्तानी ९० प्रतिशत बैंकमार्फत हुनु आफैँमा उपलब्धी मुलुकः गभर्नर
१९ मंसिर २०८२, बिहीबार
