Banking Khabar
Heading3

दशैंका लागि मासुको मूल्य निर्धारण, कस्तो मासुको कति मूल्य पर्छ जान्नुहोस् ?

October 7, 2021
सेयर:

२१ असोज,काठमाडौं । मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् ।चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरूपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरूले बताएका हुन्।

जसअनुसार आन्द्राभुँडी राखिएको खसीको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २०० र ह्याकुलासहित ग्राहकले रोजेअनुसारको मूल्य एक हजार ३०० निर्धारण गरिएको हो। यस्तै कुखुराको मासु प्रतिकिलो ३०० तथा राँगा र बङ्गुरको मासु पाँच सय तोकिएको छ।

राष्ट्रिय मासु व्यवसायी सङ्घले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको हो। सङ्घका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मूल्य निर्धारण गरिएको बताए।

“सङ्घबाट सबै मासु पसललाई निर्धारण गरिएको मूल्य कार्यान्वयनमा ल्याउनका लागि मूल्य सूची टाँस्न हामीले निर्देशन दिइसकेका छौँ, तोकिएको मूल्यअनुसार मासु बिक्री वितरण नभए सङ्घबाट कारबाही हुन्छ’’, उनले भने‍।

अन्य समयको तुलनामा दशैंमा कुखुरा र बङ्गुरको मासुको खपत कम हुने गरेको छ। खड्गीका अनुसार खपत कम हुने मासुको मूल्यमा तलमाथि भए पनि खसी, बोका तथा राँगाको मूल्यमा दशैंको अवधिमा कुनै परिवर्तन हुनेछैन। यही असोज ६ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैंका लागि मासुको गुणस्तर, मूल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो।

मासु व्यवसायीसँग छलफल गर्दै विभागले गुणस्तरसँगै मूल्यमा एकरुपता ल्याउन आग्रह गरेकाले सङ्घले मूल्य निर्धारण गरेको हो।गत वर्ष काठमाडौँ उपत्यकामा सात हजार च्याङ्ग्रा बिक्री गरिएकामा यस वर्ष चार हजारजति मात्र बिक्री गर्ने तयारी छ ।