Banking Khabar
Heading2

जेठभित्र स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार

January 30, 2022
सेयर:

काठमाडौं । अन्योल र विवादबीच सत्तारुढ गठबन्धन दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । यसअघि आगामी फागुनमा निर्वाचन गर्ने समझदारीमा पुगेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरु चौतर्फी दबावपछि जेठमै चुनाव गर्न तयार भएका हुन् ।

शनिवार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाव दिँदै आएको थियो ।

स्थानीय तहको जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुने र कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था संविधानमा रहेको भन्दै स्थानीय तह निर्वाचन ऐन संविधानसँग बाझिएकाले संशोधन गरेर निर्वाचन फागुनमा सार्ने गठबन्धनका केही नेताले बताउँदै आएका थिए ।