Banking Khabar
Heading2

गोंगबुमा खुल्यो तीन तारे होटल द सम्राट प्यालेस

April 17, 2022
सेयर:

काठमाडौंको गोंगबुमा तीनतारे होटल द सम्राट प्यालेस सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसर पारेर सञ्चालनमा आएको होटलको पर्यटन बोर्डका निर्देशक मनिराज लामिछाने, नेपाल एसोसियसन अफ टुर्स एन्ड ट्राभल्स (नाट्टा) का अध्यक्ष रमेश थापा र महासचिव कुमारमणि थपलियाले संयूक्त रुपमा उद्घाटन गरे । होटल सिरिन हस्पिटालिटी सर्भिसेज प्रालिले २० करोड रुपैयाँ लगानीमा होटल सञ्चालनमा ल्याएको हो ।

‘हवाई र पर्यटन क्षेत्रमा सँगालेको झण्डै डेढ दशक लामो अनुभव र सिपलाई थप विस्तार गर्न खोजेका छौं,’ होटल सञ्चालक अम्मर बस्नेतले भने, ‘उपत्यका भित्रिने यात्रुदेखि विदेशी पर्यटकसम्मका लागि आरामदायी बसोबास र अर्गानिक खानाको व्यवस्था हुनेछ ।’ एक रोपनी क्षेत्रफलमा फैलिएको होटलमा ३० वटा कोठा (रुम) छन् । जसमध्ये स्विट रुम २ वटा, प्रिमियम रुम ११ वटा, डिलक्स रुम ५ वटा, स्ट्यान्डर्ड रुम १० वटा र फेम्ली रुम २ वटा रहने सञ्चालक बस्नेतले जानकारी दिए । ‘मध्यम बजेट हुने उपभोक्ताले समेत भरपर्दो र उच्चस्तरीय सेवा लिन सक्नेछन्,’ उनले भने, ‘३ हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्मका कोठाहरु उपलब्ध छन् ।’

उनका अनुसार हरेक कोठामा बेड एन्ड ब्रेकफास्टको सुविधा रहनेछ । उपत्यकाको रमणीय दृष्यावलोकनसहित टेरेसमा बार्बिक्यु गर्न सकिने व्यवस्था पनि छ । होटलमा मेजिस्टिक लन्ज, बार एन्ड क्याफेसमेत सञ्चालनमा छ । ‘सेवाग्राहीले म्याजिस्टिक थालीअन्तर्गत बागलुङ ताराखोलाको आलु, सिमी, फापर, कोदो, घिउ, गुन्द्रुक आदिबाट बन्ने विभिन्न परिकारको स्वाद लिन सक्नेछन्,’ उनले भने, ‘इन्डियन, चाइनिज र कन्टिनेन्टल खाना/खाजा पनि उपलब्ध हुनेछ । कफी, ड्रिंक्स र बारको व्यवस्था पनि छ ।’ सिरिन हस्पिटालिटी सभिर्सेजले सिरिन ट्राभल्सको नाममा विगत १३ वर्षदेखि दरबारमार्गबाट हवाई टिकेटिङ तथा भिसा सर्भिस उपलब्ध गराउँदै आएको छ । द सम्राट प्यालेसबाट पनि हवाई टिकेटिङ तथा भिसा सर्भिस दिने व्यवस्था मिलाइएको प्रमुख कार्यकारी बस्नेतले जानकारी दिए । यसैबीच, सर्भिसेजले वेलनेस स्पा र जापानी तथा एसियन खानाको सम्मिश्रणसहित रेस्टुरन्टसमेत यही साता सञ्चालन गर्दै छ ।