पालिकाकै लगानीमा ८ पक्की पुल
सोलुखुम्बु — विकासका लागि स्थानीय तहले संघ र प्रदेशको मुख ताक्ने परिपाटी रहेका बेला सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्डले ५ बर्ष अवधिमा भौतिक विकासमा उल्लेख्य प्रगति गरेको छ । उक्त नगरपालिकाले इच्छाशक्ति भएमा आफ्नै बजेटले काम गरेर देखाउन सकिने उदाहरण पेस गरेको छ । ११ वडा रहेको सदरमुकामस्थित नगरपालिकाले अहिलेसम्म ८ वटा मोटेरबल पुल निर्माण गरिसकेको छ ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले १ करोड १६ लाखमा निर्माण गरेको तामा खानी पुल । तस्बिर : भानुभक्त/कान्तिपुर
पहिलो आर्थिक वर्षदेखि नै सडक र पुललाई प्राथमिकता दिएको उसले हालसम्म पालिकाभित्रका मुख्य मार्गहरूमा पक्की पुल निर्माण गरिसकेको छ । संघ तथा प्रदेश सरकारबाट सुनुवाइ नभएपछि नगरपालिकाले आफ्नै बजेटमा रकम विनियोजन गरेर ५ वबर्ष नबित्दै ८ वटा पक्की पुल निर्माण गरेको नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए ।
४ करोड ६६ लाखमा सोलु खोला पुल, ३ करोड ६५ लाखमा चट्याङघाट पुल, १ करोड ४० लाखमा बेनीखोला पुल, १ करोड १६ लाखमा तामा खानी पुल, १ करोड १५ लाखमा सोलनासा पुल निर्माणपछि गाडी चल्न सुरु गरिसकेको छ । त्यस्तै ४३ लाखमा सालाबेसी मोटरेबल बेलिब्रिज, ३५ लाखमा हेवाखोला मोटरेबल बेलिब्रिज र ३५ लाखकै लागतमा दिमिल बेलिब्रिज निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
‘माथिल्लो निकायको मुख ताक्दा केही नभएपछि आफ्नै बनायौं,’ नगरप्रमुख शेर्पाले भने । जनप्रतिनिधिले पद बहाली गरेदेखि अहिलेसम्मको अवधिमा ३ सय ३० किलोमिटर सडकको ट्र्याक खनेको छ । त्यस्तै १ सय किलोमिटर सडक ग्राभेल गरेको छ । सडक निर्माणमा नगरपालिकाले उपभोक्ता समिति पनि गठन गरेन भने ठेक्का पनि लगाएन । विकासको नयाँ शैली अपनाएर पालिका आफैंले यति धेरै सडक खनेको हो ।
नगरपालिकाले सडक खन्नका लागि सुरुमै एक्स्काभेटर, ब्याकुलोडर, रोलर र ट्रिपर खरिद गरेर काम गरेको हो । ‘५ वर्षमा हामीले नगरपालिकाकै डोजर टोलमा पठाएर बाटो ट्र्याक खनेका हौं, डोजरमा तेल हाल्ने र अपरेटर खर्चबाहेक अन्यत्र एक रुपैयाँ पनि खर्च नगरी बाटो खनेका छौं,’ नगरप्रमुख शेर्पाले भने । उनका अनुसार अब नगरपालिकाको कुनै पनि टोल र बस्तीमा बाटो पुग्न बाँकी छैन । अहिले नगरपालिकाले बनाएका ८० प्रतिशत सडक १२ महिना नै चल्ने नगरप्रमुख शेर्पाले बताए ।
सम्बन्धित खबर
बाग्मती प्रदेशको मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य
२७ मंसिर २०८२, शुक्रबार
अर्थ मन्त्रालयको जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’
२७ मंसिर २०८२, शुक्रबार
जग्गा धितोमा कर्जा दिन सहकारीलाई पनि बन्देज
२७ मंसिर २०८२, शुक्रबार
